Sher Bahadur Deuba Sapath Grahanकाठमाडौ। राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई राष्ट्रपति कार्यालयमा बुधवार आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ गराएकी छन्। व्यवस्थापिका–संसदवाट मङ्गलबार नेपाली काँग्रेसका सभापति एवम् संसदीय दलका नेता देउवा चौंथो पटक प्रधानमन्त्री निर्वाचित भएको हो।

देउवाले कुल उपस्थित ५५८ मतमध्ये ३८८ मत प्राप्त गरेका थिए। यसअघि देउवा विसं २०५२ भदौ २७ गते पहिलो पटक प्रधानमन्त्री बनेका थिए।। त्यसपछि २०५८ साउन ११ गते दोस्रो पटक र २०६१ साल जेठ २० गते तेस्रो पटक देउवा प्रधानमन्त्री बनेका हुन्।

नवनिर्वाचित प्रधानमन्त्री देउवाले ईश्वर, देश र जनताको नाममा शपथ लिएका छन्। शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल, कामु प्रधानन्यायाधीश गोपाल पराजुली, सभामुख ओनसरी घर्ती, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायतकाको उपस्थित थियो।

त्यसैगरेर नवनियुक्त उपप्रधानमन्त्री तथा मन्त्रीहरुको पनि सपथ ग्रहण गराइएको छ। नवगठित मन्त्रिपरिषदमा नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारले उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास, माओवादी केन्द्रका कृष्णबहादुर महराले उपप्रधान एवं परराष्ट्र र नेपाली कांग्रेसका गोपालमान श्रेष्ठले उपप्रधान एवं शिक्षा मन्त्रीको जिम्मेवारी पाएका छन्।

गृह मन्त्रालयमा माओवादी केन्द्रका जनार्दन शर्मालाई ल्याइएको छ भने अर्थ मन्त्रालयको जिम्मेवारी कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीलाई दिइएको छ । कांग्रेसकै फरमुल्ला मन्सुरलाई श्रम तथा रोजगारीमन्त्री बनाइएको छ भने माओवादी केन्द्रका प्रभु साहले बिनाविगाीयमन्त्रीकोरुपमा शपथ लिएका छन्।
प्रकाशन मिति–२०७४ साल जेष्ठ २४ गते बुधवार ।