काठमाडौ। नेपाल महिला चेम्बर र नेपाल चेम्बर अफ कमर्सले इजरायलका लागि नेपाली राजदूतमा डा.अन्जान शाक्य नियुक्त भएकोमा बधाई ज्ञापन गरेको छ।

नेपाल महिला चेम्बरको संस्थापक अध्यक्ष रहेकी डा.शाक्यलाई शुक्रवार आयोजित कार्यक्रममा नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठ र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले उत्तरोत्तर प्रगतिको कामना सहित सम्मान गरेका थिए।

सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नवनियुक्त राजदूत डा.शाक्यले नेपाल र इजरायलबीचको सम्बन्धलाई अरु प्रगाढ बनाउन महिला उद्यमी, नेपाल महिला चेम्बर, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग बाणिज्य महासङ्घको साथ लिएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्। डा.शाक्यले नेपाली महिला उद्यमीको उत्पादनको आन्तरिक तथा अन्तर्राष्ट्रिय बजार प्रबद्र्धन गर्न आफूले सक्दो प्रयास गर्ने पनि बताएकी छन्।

राजदूत डा. शाक्यले एक्लो मान्छेले केही गर्न सक्दैन तर ‘टिमवर्क’ले धेरै काम गर्न सकिन्छ भन्दै टिमवर्ककै कारण नेपाल महिला चेम्बरले छोटो अवधिमा यो सफलता हासिल गरेको हो भनेकी छन्। छोटो अवधिमा नेपाल महिला चेम्बरले विभिन्न तालिम तथा अन्तरक्रियात्मक कार्यक्रम गरी नेपाली महिला उद्यमीहरुलाई प्रोत्साहन गर्ने काम गरेको छ।
प्रकाशन मिति–२०७५ साल पुस २० गते शुक्रवार ।