Pregancy 0काठमाडौ। भारतीय नाकाबन्दी र मधेशी मोर्चाको आन्दोलनले अत्यावश्यक औषधि अभाव हुंदा बढी मार गर्भवती महिलालाई परेको छ। जसको कारण उनीहरु जीवन र मृत्युको दोसाँधमा रहेका छन्। मानविय मूल्य तथा मानवअधिकारको अलिकति पनि ख्याल नगरिकन गरिएको यसप्रकारको नाकाबन्दी र आन्दोलन अत्यन्त निन्दनिय तथा अपराधकै रुपमा लिइएको छ। यसतर्फ सवैले सोच्न नितान्त आवश्यक भएको जानिफकारहरुको भनाई रहेको छ।

नाकाबन्दी र आन्दोलनका कारण प्रसूतिका लागि नभइनहुने ‘अक्सिटोसिन’ जस्ता अत्यावश्यक औषधि तराई क्षेत्रका अधिकांश जिल्लाका ‘बर्थिङ सेन्टर’मा पुग्न नसक्दा समस्या भएको छ। औषधि अभावका कारण व्यथाले छटपटाउँदै दुर्गमबाट आएका गर्भवतीले समयमै प्रसूतिसेवा लिन पाएका छैनन्। आमालाई प्रसव पीडाबाट छुटाएर बच्चा छिटो जन्माउन र जन्मिसकेपछि रक्त श्राव रोक्न उक्त औषधिको प्रयोग गरिन्छ। नवलपरासी, बारा, सिराहा, सप्तरी, रौतहट, धनुषा, पर्सा जिल्लाका बर्थिङ सेन्टरमा ‘आमा सुरक्षा’ कार्यक्रमअन्तर्गत निःशुल्क दिइने प्रसूतिसेवा अक्सिटोसिनको अभावले रोकिन पुगेको छ।

आन्दोलनकारीले औषधि बोकेको ट्रकमा आगो लगाउन थालेपछि डरका कारण ढुवानी गर्न नसकी मौज्दातमा रहेको अक्सिटोसिनलगायत अत्यावश्यक औषधि केन्द्रीय र क्षेत्रीय मेडिकल स्टोरमा थन्किएका छन्।औषधि बर्थिङ सेन्टसम्म पुगेको भए सयौं गर्भवतीले समयमै प्रसूतिसेवा पाउने भन्दै स्थानीय स्वास्थ्यकर्मीले चिन्ता व्यक्त गरेका छन्। स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्था महाशाखाका सूचना अधिकारी दिनेशकुमार चापागाईंले आन्दोलनका कारण क्षेत्रीय मेडिकल स्टोरमा थन्किएको औषधि ढुवानी हुन नसक्दा गर्भवती महिलालाई सास्ती भएको स्वीकारे।

महाशाखाका निर्देशक डा. भीमसिंह टिंकरीले सुरक्षा दिएर भए पनि औषघि ढुवानी गर्ने प्रयास भइरहेको प्रतिक्रिया दिए। अक्सिटोसिन मेडिकल स्टोरमा ज्यादै न्यून मात्रामा रहेको र तत्कालको आवश्यकता टार्न वान हर्ट नामक संस्थाले एक लाख भाइल दिन लागेको उनले बताए। महाशाखा र जिल्लाका जनस्वास्थ्य कार्यालयले पछिल्लो दुई वर्षयता अक्सिटोसिनलगायत सरकारले निःशुल्क उपलब्ध गराउने अन्य औषधि खरिद गर्न सकेका छैनन्।

प्रकाशन मिति–२०७२ साल मंसिर १६ गते बुधबार ।