काठमाडौं। नेपाल अटो मोबाइल्स डिलर्स सङ्घको आयोजनामा भएको यो बर्षको ‘नाडा अटो शो’ मेला संपन्न भएको छ। यस मेलामा करिब रु एक अर्ब बराबरको कारोवार भएको आयोजकले जनाएको छ।

भदौ २६ गते देखि ३१ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा भएको मेलामा नयाँ ब्राण्डका दुई पाङ्ग्रे र चार पाङ्ग्रे, ठूला सवारी साधनका साथै तीनका पार्टपूर्जाहरुको व्यापक कारोवार भएको छ।

करिब ६० हजार दर्शकले अवलोकन गरेको उक्त मेलामा देशका विभिन्न स्थानबाट नयाँ मोडलका गाडी तथा विदेशी गाडीको बिक्रीका लागि स्वदेशमा रहेका सबै मुख्य ब्राण्डको सहभागिता थियो। अन्तर्राष्ट्रिय तहका नाम चलेका विभिन्न कम्पनी तथा ब्राण्डका सामग्रीमा सहुलियत तथा छुटको व्यवस्थासमेत गरिएको थियो।

चारपाङ्ग्रे साधन तथा कारको आयातमा करिब २५६ प्रतिशतसम्म भन्सार राजश्व तिर्नुपर्ने हुँदा यसको लागत धेरै हुने गरेको व्यवसायी बताउँछन्। यस क्षेत्रले कूल गार्हस्थ्य उत्पादनमा वार्षिक २५ प्रतिशत योगदान गरेको सङ्घले जनाएको छ। मेलामा विभिन्न कम्पनीका ७१ बिक्री कक्ष राखिएको थियो।

प्रकाशन मिति–२०७५ साल भदौ ३१ गते आइतवार ।