Mr.Lal Babu Pandit with M/s Keki Adhikari

काठमाडौ। नेपालका अत्यन्त चर्चित पूर्वमन्त्री तथा नेकपा एमालेका नेता लालबाबु पण्डितले नायिका केकी अधिकारीलाई अटोग्राफ दिएको कुराले व्यापक चर्चा पाएको छ। चर्चा हुनुको पछाडि नायिका अधिकारीलाई नगद एक हजारको नोटमा नेता पण्डितले विचारै नगरिकन हस्ताक्षर गरेर दिएको कुराले बढी चर्चा पाएको हो।

नेपालको कानून अनुसार त्यसरी नेपाली नोटमा हस्ताक्षर गर्नु र केरमेट गर्नु कानून त अपराध हो। यसले गर्दा नेता पण्डितले कानूनको कुनै हेक्का नै नराखिकन त्यसरी नोटमा हस्ताक्षर गरेर अटोग्राफ दिनु नहुने भन्ने भनाई व्यापक रुपमा प्रकाशमा आएको छ। यसले गर्दा नेता पण्डितले कानून मिचेको आवाजहरु उठ्न थालेको छ। नायिका केकी अधिकारीलाई त्यसरी अटोग्राफ दिदा लालबाबुलाई अप्ठ्यारो पर्न सक्ने जानकारहरू बताउँछन्।

पैसा फोहोर गर्ने कार्य कानुनविपरित रहेकाले उनलाई अप्ठ्यारो पर्न सक्छ । फौजदारी संहिता ऐनमा उल्लेख भएअनुसार नोट वा सिक्का जलाउने, गाल्ने, च्यात्ने वा नोट केरमेट गर्ने व्यक्तिलाई तीन महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्मको जरिवाना तथा दुवै सजायसम्म हुने व्यवस्था गरिएको छ।

प्रदर्शनमा आउन लागेको नायिका केकी अधिकारीको चलचित्र ‘राज्जा रानी’ का विराटनगरस्थित स्थानीय बखरी बगैंचामा आयोजित प्रचारात्मक कार्यक्रममा मुख्य अतिथिको रुपमा रहेका पण्डितले बुधबार हजार रुपैयाँको नोटमा हस्ताक्षर गरेका थिए।
प्रकाशन मिति–२०७४ साल पुष ६ गते विहीवार ।