काठमाडौं। अमर नायक स्वर्गवासी श्रीकृष्ण श्रेष्ठ पत्नी नायिका स्वेता खड्काले महाभूकम्प पीडितहरुका लागि माझी बस्ती निर्माण पश्चात अव क्यान्सर पीडितहरुका लागि क्यान्सर अस्पताल निर्माण गर्ने कार्यमा लागेकी छन्। नायिका खड्काको पहल तथा निमार्णमा एक सय सैयाको क्यान्सर अस्पताल निर्माण हुने भएको हो।

नायिका स्वेता खड्का सहित क्यान्सर रोग विशेषज्ञ डाक्टरहरुको समूहले ललितपुर जिल्ला गोदावरी नगरपालिका स्थित छम्पीमा निर्माण गर्न लागेको नेशनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टरको शिलन्यास गरिएको छ। नायिका खड्काका अनुसार नेशनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टर अस्पतालको निर्माण दुई वर्षभित्र पूरा हुने भएको छ।

पति–परमेश्वर अमर नायक श्रीकृष्ण श्रेष्ठ क्यान्सरकै कारण स्वर्गवास भएको त्यो पीडालाई भुल्न पनि क्यान्सर पीडितहरुलाई राहत दिनका लागि नै क्यान्सर अस्पताल निर्माण गर्न आफूले कम्मर कसेको नायिका खड्काले बताएकी छन्। नेपालमा उत्कृष्ट क्यान्सर अस्पताल बनाउन आफ्नो टिमले कुनै कसुर नछाड्ने बताउँदै क्यान्सर अस्पताल निर्माण गर्ने आफ्नो ५ वर्षदेखिको लक्ष्य तथा धोको रहेको पनि उनले बताएकी छन्।

Shweta Khadka in her own office.

क्यान्सरसँग लडिरहेका तर, उपचार गर्न पैसा नभएकाहरुलाई सहयोग गर्न आफू क्यान्सर अस्पताल निर्माणमा जोडिएको उनी बताउँछिन् । पैसा कमाउन अस्पताल निर्माण गर्न नलागेको पनि उनले बताइन्। क्यान्सर भएपछि निको हुँदैन भन्ने सोच्नेलाई अभिनेत्री मनीषा कोइरालाको उदाहरण दिँदै अभिनेत्री श्वेताले थपिन्, ‘यो क्यान्सर अस्पतालसँग मनीषा कोइराला पनि जोडिनुभएको छ । क्यान्सर भन्ने वितिक्कै हामी सबै होपलेस हुन्छौं । निको हुँदैन भन्ने सोच्छौं । तर, हामीसँग सबैभन्दा ठूलो उदाहरण मनीष कोइराला दिज्यू हुनुहुन्छ । यो अस्पतालले क्यान्सर हुनभन्दा नहुन जनचेतना फैलाउनेछ।’


प्रकाशन मिति–२०७६ साल फागुन २३ गते शुक्रवार ।