Narayanhity Royal Placeकाठमाडौ। नेपालमा अति सुरक्षित तथा बैभवपूर्ण मानिएको राजदरवारमा भयानक हत्याकाण्ड मच्चिएको आज जेष्ठ १९ गतेवाट १६ बर्ष पुगेको छ। आजैका त्यो पनि शुक्रबारकै दिन नारायणहिटी दरबार हत्याकाण्ड मच्चाइएको थियो। जहाँ अत्यन्त लोकप्रिय राजा वीरेन्द्र शाहको वंशनाश भएको थियो।

यस नारायणहिटी राजदरवार हत्याको सही पहिचान तथा समाधान हुन सकेको छैन्। सही तथ्य भनेर नेपाली जनतामाझ ल्याइएतापनि कुनैपनि नेपाली जनताले मान्न तयार अझै भैसकेको अवस्था छैन्। नसकेको आश्चर्यकै रुपमा रहँदै आएको यस घटनामा २०५८ जेठ १९ शुक्रबार रात्रिमा तत्कालीन राजा वीरेन्द्रको वंशनाश हुनेगरी राजपरिवारका दश जनाको हत्या गरिएको थियो।

King Birendra Familyराजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारीहरु श्रुति, शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह र धीरेन्द्र शाहको एकै प्रकरणमा हत्या गरिएको थियो। घटनामा कोमल शाह, शोभा शाही, कुमार गोरखशमशेर र केतकी चेस्टर घाइते भएका थिए।

हत्याकाण्डका विषयमा तात्कालीन प्रधानन्यायाधीश, संसदका सभामुखको नेतृत्वका छानविन गरे पनि त्यसले तथ्य बाहिर ल्याउन नसकेको भन्दै आम असन्तुष्टि अझै उत्तिकै छ । यथार्थ र सर्वसाधारणले चित्त बुझाउने खालको छानविन अझै भएको छैन । पटक पटक सरकारको नेतृत्व गर्नेहरुले हत्याकाण्ड भएको नारायणहीटी दरबारको प्रांगणमा उभिएर सत्य तथ्य बाहिर ल्याउने आश्वासन त दिएका छन् तर अहिलेसम्म पनि कुनै कदम चालिएको छैन। जसका कारण यस दिन नेपाली इतिहासको एक कहालीलाग्दो दिनका रुपमा चित्रित भएर रहिरहेको छ।

अत्यन्तै बलियो सुरक्षा घेराभित्र अत्यन्त शक्तिशाली मानिएको राजपरिवारको वंशनाश भएको घटनाका बारेमा अझैसम्म स्वतन्त्र रुपमा छानविन हुन नसक्नु बिडम्बना नै हो। तत्कालिन राजा ज्ञानेन्द्रको निर्देशनमा गठित उच्चस्तरीय छानविन समितिले घटनाका बारेमा प्रतिवेदन तयार गरेपनि सो प्रतिवेदनलाई आम जनताले सहजै पत्याउन सकेका थिएनन्। समयको अन्तरालमा नेपालबाट स्वयं राजतन्त्रकै अन्त्य भइसकेको छ। त्यसैले पनि आउने दिनमा यो हत्याकाण्डको तथ्यसम्म पुगेर छानविन होला भन्नेमा आशंका थपिएको छ।

King Birendra Family.1प्रकाशन मिति–२०७४ साल जेष्ठ १९ गते शुक्रबार ।