काठमाडौं। विद्यालय पुस्तकालय परिचारिका संगठन नेपाल (नासल) को २१ अौ वार्षिक साधारण सभा सम्पन्न भएको छ। काठमाडौंको नेपाल ल क्याम्पसको हलमा आयोजित कार्यक्रममा साधारण सभा संपन्न भएको हो।

चिकित्सा शिक्षा आयोगका सदस्य सचिव डा.हरि लम्सालको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा विभिन्न विधामा सम्मान र पुरस्कार समेत वितरण गरिएको छ। सभामा सम्मानित हुने व्यक्तित्वहरुमा नासल लाइफ टाइम एचिभमेन्ट अवार्डबाट डा.मधुसुधन कार्की, उत्कृष्ट लाइब्रेरी भक्तपुरको मेघा माध्यमिक विद्यालय, उत्कृष्ट लाइब्रेरियन काठमाडौंको श्री जनकल्याण माध्यमिक विद्यालयकी गंगा ढुंगाना, उत्कृष्ट रिडर ललितपुरको श्री सिद्देश्वर आधारभुत विद्यालयका राम कुमार मन्डल छन्।

त्यसैगरी, नासलका संस्थापक महासचिव केशव खवास र भक्तपुर जिल्लाका पूर्व संयोजक कपिल केसी समेत सम्मानित भएका छन्। कार्यक्रममा राष्ट्रिय पुस्तकालय प्रमुख उपेन्द्र मैनाली ,केशर पुस्तकालयका प्रमुख दशरथ मिश्र र शिक्षा मन्त्रालयका पुस्तकालय समन्वय शाखा प्रमुख यादव चन्द्र निरौलाको समेत सहभागिता रहेको थियो।

कार्यक्रमको दोश्रो सत्रमा संस्थाका कोषाध्यक्ष सुनिता जोशीले गतवर्षको आर्थिक विवरण र महासचिव विजय कुमार पोखरेलले महासचिवको प्रतिवेदन प्रस्तुत गरेका थिए।
प्रकाशन मिति–२०७६ साल मंसिर २४ गते मंगलवार ।