काठमाडौं। नेपाली राजनीतिमा निक्कै आशलाग्दो धारको पार्टीको रुपमा छोटो समयमा पहिचान कायम गर्न सफल विवेकशील साझा पार्टी अन्ततः फुटेको छ। विवेकशील साझा पार्टीका ३५ मध्ये १६ जनाले निर्वाचन आयोगमा नयाँ दल दर्ताको निवेदन दिएपछि आधिकारिक रुपमा फुटेको हो।

उज्वल थापा समूहका १६ सदस्यले विवेकशील नेपाली दल नाम माग गर्दै नयाँ पार्टी दर्ताको लागि निर्वाचन आयोगमा शुक्रवार निवेदन दिएका हुन्। निवेदन दिनेमा संयोजक थापा, रन्जु दर्शना, मिलन पाण्डे, विराज भट्ट श्रेष्ठ, रमेश पौडेल, सुवुना भट्ट, डा। अनुषा थापा लगायत रहेका छन्। पौडेल र श्रेष्ठ ३ नंबर प्रदेशका सांसद हुन्।

संयोजक रबिन्द्र मिश्र र थापाबीच पार्टीको आगामी रणनीति, नेतृत्वको भूमिका लगायतका विषयमा पार्टीभित्र मतभेद चुलिएको थियो। पुस ३० गतेकालागि बोलाइएको पार्टीको केन्द्रीय समितिको बैठक अघि पार्टी सदस्यहरु स्पष्ट रुपमा मुलतः रबिन्द्र मिश्र र उज्वल थापा गुटमा विभाजित देखिएका थिए।

मूल्य मान्यताको राजनीति र सुसंस्कृत राजनीतिबाट पार्टी मोडिएको आरोप लगाउँदै उज्वल थापा समूह टुक्रिएको हो। संयोजक थापाले पार्टीमा बुझाएको समीक्षा प्रतिवेदनलाई रविन्द्र मिश्र समूहले वेवास्ता गरेर उनीहरुलाई अल्पमतमा पार्न ६ केन्द्रीय सदस्य थप गर्न लागेपछि पार्टी फुटेको हो।

मिश्र र उनीपक्षका नेताहरुले मात्रै पार्टीमा शक्तिको प्रयोग गरिरहेका र विवेकशीलबाट आएकाहरुलाई कुनैपनि जिम्मेवारी नदिइएको थापा पक्षधरको आरोप छ। उज्वल थापाले नेतृत्व गरिरहेको विवेकशील नेपाली र रविन्द्र मिश्रले नेतृत्व गरेको साझा पार्टी एकीकरण भई गतवर्ष मात्र विवेकशील साझा पार्टी निर्माण भएको थियो।
प्रकाशन मिति–२०७५ साल पुस २७ गते शुक्रवार ।