काठमाडौं। सही र सत्य कुरा गर्न कहिले पनि पछि नहट्ने गरेकी निडर नायिकाको रुपमा सुपरिचित अभिनेत्री जेनी कुँवरको शुक्रवार अन्त्येष्टि गरिएको छ। बिहीवार राति काठमाडौंको बानेश्वर थापागाउं स्थित सनराइज सिटी अपार्टमेन्टमा डिप्रेसनका कारण आत्महत्या गरेकी अभिनेत्री जेनी कुँबरको शुक्रवार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो।

काठमाडौंको टिचिङ अस्पतालमा पोस्टमार्टमपछि अन्तिम श्रद्धाञ्जलीका लागि अभिनेत्री जेनी कुँवर पार्थिव शरीर पशुपति आर्यघाटमा राखिएको थियो। मृतक जेनी कुँवरलाई श्रद्धाञ्जली अर्पण गर्न नेपाली चलचित्र क्षेत्रका कलाकारहरुको बाँक्लो उपस्थिति थियो।

नेपाल चलचित्र कलाकार संघको झण्डा ओढाएर अभिनेत्री जेनी कुँवरलाई अन्तिम श्रद्धाञ्जली दिइएको थियो। कलाकार संघका प्रवक्ता तथा उपाध्यक्ष मोहन निरौला देखि नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी लगायतले अभिनेत्री जेनी कुँवरले नेपाली चलचित्र क्षेत्रमा दिएको योगदानको चर्चा गरेका थिए।

मृतक अभिनेत्री जेनी कुँवरका श्रीमान र दुई छोरी रहेका छन्। दुवै छोरी देश वाहिर छन्। ‘घायल र हलचल’ नामक दुई फिल्मको निर्माण समेत गरेकी अभिनेत्री जेनी कुँवरले नेपाली चलचित्र ‘जिन्दगानी’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी थिइन्।

यसपछि उनले ‘मैदान, जीननदाता, कानून, अभिमन्यू, मलाई माफ गरिदेऊ’ लगायत थुप्रै फिल्ममा अभिनय गरेकी थिइन्। नाटकवाट कला यात्रा शुरु गरेकी अभिनेत्री जेनी कुँवरले गत बर्ष जारी लकडाउनको चार महिना पशुपति गोरखनाथ वरपरका संगति र विसंगतिका वारेमा खुलेर बहस गर्दै त्यहाँ भजन–कीर्तन गर्ने र गराउने कार्य गरेकी थिइन्।

जसवाट अभिनेत्री कुँवर अत्यन्त चर्चामा आएकी थिइन्। पशुपति गोरखनाथ क्षेत्रको विसंगतिलाई हटाएर स्वच्छ वातावरण कायम गर्नका लागि पैरबी गरेकी अभिनेत्री कुँवरको त्यो चाहना र इच्छा पूरा नहुँदै मृत्युबरण गर्नु अत्यन्त दुःखद हुन पुगेको छ।
प्रकाशन मिति–२०७८ साल असार २५ गते शुक्रवार ।