काठमाडौं। नायिका शुभेच्छा थापालाई यतिखेर दशैंको चटारो रहेको छ। शुभेच्छालाई चलचित्र निर्जलाको दशैं लागेको छ। निर्जलाका अन्य कलाकार तथा प्राविधिकलाई भन्दा निर्जला बनेकी शुभेच्छालाई भ्याईनभ्याई भएको छ। असोज १९ गते चलचित्र निर्जला रिलिज भएयता चलचित्र निर्जलामा निर्जलाकै लिडरोलमा देखिएकी शुभेच्छालाई बेफुर्सदले निक्कै गाँजेको हो।

चलचित्र हल–हलमा दर्शकका साथ पुग्नु र उनीहरुको मनको कुरा बुझ्न र बुझाउन अनि विभिन्न मिडियामा प्रचारका लागि दगुर्नु निर्जला शुभेच्छाको नियमितता बनेको छ। शुभेच्छाको दौडाईसंगै निर्जलाले पनि गजबले गत्ति लिएको देखिन्छ। निर्जलाभन्दा अगाडि रिलिज भएका चलचित्रको तुलनामा निर्जलाको प्रदर्शन निक्कै नै राम्रो रहेको हलवालाहरुको भनाई रहेको छ। दर्शकको राम्रै साथ पाइरहेको छ।

चलचित्र हेर्न सिनेमाघरमा दर्शक अत्यधिक आइरहेको निर्माता प्रकाशचन्द्र न्यौपानेको समेत दावी रहेको छ। राजु गिरीको निर्देशनमा बनेको चलचित्रले प्रदर्शनको पहिलो दिन शुक्रबार देशभरका हलमा औसतभन्दा माथिको ब्यापार गरेको थियो भने दोस्रो दिन शनिबार एकाएक सबै हल हाउस फूल भएको निर्देशक गिरीले बताएका छन् ।

दशैको अबसर पारेर प्रदर्शन गरिएको चलचित्र निर्जलामा किशोर खतिवडा, शुभेच्छा थापा, निक्स शर्मा, श्याम राई, सुरवीर पण्डित, राजकुमार थापा, पल्पसा डंगोल, रश्मी भट्ट, प्रकाशचन्द्र न्यौपाने तथा बालकलाकार काजोल गिरीलगायतका कलाकारले अभिनय गरेका छन्।


प्रकाशन मिति–२०७५ साल असोज २२ गते सोमवार ।