indrawati 1काठमाडौ। १२ बर्षपछि एकपल्ट खोलो फर्कन्छ भनेजस्तै १२ बर्षपछि भएपनि चलचित्र इन्द्रावती प्रदर्शनमा आएको छ। चलचित्र निर्माण पक्षमा भएको सुस्तताको कारणले चलचित्र निर्माणको १२ बर्ष वितेपछि प्रदर्शनमा आएको चलचित्र इन्द्रावतीका प्रमुख नायक शोभिते उपेन्द्र तिमिल्सिनाले बताएका छन्।

१२ बर्षपछि प्रदर्शनको डेट लिएर अलनेपाल रिलिज गरिएतापनि काठमाडौमा भने चलचित्र इन्द्रावतीले ६ वटा हल मात्र पाएको चलचित्र इन्द्रावतीको वितरणको जिम्मा लिएका चलचित्रकर्मी सरोज शर्माले भिजन संसारलाई भनेका छन्। चैत्र १९ गते शुक्रवारवाट रिलिज भएको चलचित्र इन्द्रावतीलाई नेपाली चलचित्रलाई माया गर्ने दर्शकहरुले अत्यन्त मन पराएको चलचित्र वितरक शर्माको दावी रहेको छ। यसैक्रममा चलचित्र इन्द्रावतीको सोमवार काठमाडौको बागबजार स्थित सिटीम्याक्स हलमा प्रिमियर गरिएको छ।

indrawati

नेपालका शिक्षा मन्त्री गिरिराजमणि पोखरेलको प्रमुख आतिथ्यमा भएको प्रिमियर समारोहमा चलचित्र प्रमुख कलाकारहरु रवि गिरी, उपेन्द्र तिमिल्सिना, रन्जु श्रेष्ठ लगायतका थिए। अढाई घण्टा लामो चलचित्र पूरै हेर्न समय खर्चेका मन्त्री पोखरेलले चलचित्र समय सापेक्ष सुहाएको तथा राम्रो चलचित्र भएको प्रतिक्रिया दिएका छन्।

१५ बर्षअघि नेपाल टेलिभिजनवाट प्रसारण भएको लामो भागको हिट टेलिसिरियल अविरल बग्दछ इन्द्रावतीको सिक्वेल तथा सोही टेलिसिरियलका पात्र उपेन्द्र तिमिल्सिना शोभितेको शहर आगमन पछिको घटना र भक्तेकाजी बनेका शोषक रवि गिरी प्रजातन्त्र पछि मन्त्री बनेर गरेका कुकार्यको कथावस्तुलाई जोड्ने कार्य चलचित्र इन्द्रावतीमा भएको छ। चलचित्रका खलपात्र रवि गिरीले यस चलचित्रलाई अविरल बग्दछ इन्द्रावतीको दोश्रो भाग नै भएको भन्न रुचाउंछन्।

indrawati 2

चलचित्रको उत्तराद्र्धमा खलपात्रलाई शोभितेले खतम पार्ने दृश्यमा देखिएकी रन्जु श्रेष्ठले लामो समयपछि भएपनि चलचित्र प्रदर्शन हुनुलाई राम्रो पक्ष भन्न रुचाएकी छन्। अविरल बग्दछ इन्दावतीमा लामो भूमिकामा देखिने गरेकी रन्जु चलचित्र इन्द्रावतीमा भने छोटो तर गेष्टरोलमा देखिएकी छन्। छोटो तर गेष्टरोलमा उनी निक्कै जमेकी छन्। उनको निर्णायक भूमिका आफूलाई अत्यन्त मन परेको चलचित्र अंशवण्डा तथा ग्रीनकार्डकी निर्मात्री मन्जु रानामगरले भनेकी छन्। निर्मात्री रानामगर चलचित्र इन्द्रावती मनछुने चलचित्र भएको भन्छिन्।

चलचित्र इन्द्रावती हेर्न आएकी सामाजिक अभियन्ता सुनिता कायस्थ पनि चलचित्र इन्द्रावतीवाट निक्कै प्रभावित बनेकी भनेकी छन्। चलचित्र इन्द्रावतीमा नेपाली चलचित्रको इतिहासमा अत्यन्त लोकप्रिय स्वर्गवासी नायक श्रीकृष्ण श्रेष्ठको विशेष भूमिका रहेको छ। साथमा नायिका विपना थापाको पनि जोडदार अभिनय रहेको छ। नायक श्रेष्ठ र नायिका थापा दुवैले निडर पत्रकारको भूमिकामा अभिनय गरेका छन्। चलचित्रको लेखन तथा निर्देशन बद्री अधिकारीको रहेको छ। निर्माण व्दारिका तिमिल्सिना र दीपेन्द्र दाहालले गरेका छन्।
प्रकाशन मिति–२०७२ साल चैत्र २२ गते सोमवार ।