काठमाडौ। नेपालमा स्थिर सरकार नहुंदा कुनैपनि सरकारले सही तथा राम्रो काम गर्न नसकेको तथा जनताहरुमा निराशा उत्पन्न भैरहेको छ। त्यो अवस्थालाई दूर गर्न तथा सही अनि निश्चित स्थायी सरकार गठन गर्नका लागि पनि आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा बाम गठवन्धन गरिएको खुलासा भएको छ।

नेकपा एमालेका प्रभावशाली नेता तथा काठमाडौ क्षेत्र नंबर ९ प्रतिनिधिसभा सदस्यका उम्मेदवार कृष्णगोपाल श्रेष्ठले त्यस कुराको खुलासा गर्दै स्थायी सरकार र जनचाहना अनुरुपको कार्य बाम गठवन्धनवाट मात्र हुने विज्ञहरुको सल्लाह तथा अभ्यासवाट नेकपा एमाले र माओवादी केन्द्र वीच बाम गठवन्धन भएको बताएका छन्।

नेता श्रेष्ठले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचन पश्चात नेकपा एमाले र माओवादी केन्द्र वीच एकता हुने पनि जिकिर गरेका छन्। काठमाडौमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेता श्रेष्ठले उक्त खुलासा र जिकिर गरेका हुन्।

सोही कार्यक्रममा नेकपा एमालेवाट काठमाडौ क्षेत्र नंबर ९ को क बाट प्रदेशसभा सदस्यको उम्मेदवार बनेका बौद्धिक व्यक्तित्व डाक्टर अजयक्रान्ति शाक्यले काठमाडौका जनताहरुको अनुहार जसरीपनि खुशी ल्याउने आफूहरुको मूल एजेन्डा भएको र त्यसको लागि क्रियाशील भएर प्रदेश सरकार मार्फत काम गर्नका लागि आफूले उम्मेदवारी दिएको बताए।

Dr.Ajaya Kranti Shakya

त्यसैगरेर, नेकपा एमालेवाटै काठमाडौ क्षेत्र नंबर ६ को क बाट प्रदेशसभा सदस्यको उम्मेदवार बनेका काठमाडौ महानगरपालिकाका पूर्वमेयर केशव स्थापितले समग्र काठमाडौको विकासका लागि आफूहरु दत्तचित्त भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा नेकपा एमालेवाट काठमाडौ क्षेत्र नंबर ७ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका नेता रामवीर मानन्धर तथा काठमाडौ क्षेत्र नंबर ८ का प्रदेशसभा सदस्य राजेश शाक्यको समेत उपस्थिति रहेको थियो।

प्रकाशन मिति–२०७४ साल कात्तिक १७ गते शुक्रबार ।