ललितपुर । हुंदैन भन्नेहरुको माझमा हुन्छ भन्ने पनि हुन्छ। त्यो पनि विना पैसा नहुने काम हुन्छ। त्यसको लागि आंट, साहस र धैर्यको मात्र लगानी गरे पुग्छ। आंट, साहस र धैर्यको अलावा वोली बेच्न सकियो भने, नहुने काम पनि हुन्छ। जसको उदाहरण लाइम लाईट एजिविशन प्रा.लि.का फाउण्डर सालिका चित्रकार र निशा मुल्मी रहेका छन्।

सालिका र निशामा नयाँ सोच छ। आँट छ। धैर्य छ। र उनीहरुमा वोली बेच्ने सक्ने बेजोड खुवी छन्। जसले गर्दा खल्तीमा एक–दुई सय रकम मात्र भएतापनि त्यस रकमवाट लाखौं लाखको कमाई गर्ने दुवैले क्षमता राख्ने गरेका छन्। सोही क्षमताकै कारण पछि परेका र पारेका समाजका धेरै महिला दिदीबहिनीहरुको आधार उनीहरु बनेका छन्।

कतिका सीप तथा क्षमता भएर पनि उनीहरुव्दारा सिर्जित उद्यमका बजार नपाइरहेको बर्तमान अवस्थामा बजारिकरण गरेर रोजीरोटी दिने कार्य सालिका र निशाको प्रयासवाट भैरहेको छ। हेर्दा नै रहरलाग्दा घरेलु सीप तथा प्रतिभावाट उत्पादित सवैखाले हस्तकलाको व्यापार प्रमोसन गर्ने कार्यदेखि ती उत्पादनलाई बजारमा पु-याउने सरल माध्यम सालिका र निशा बनेका छन्।

इभेन्ट म्यानेजमेन्टको माध्यमवाट या प्रदर्शनीको माध्यमवाट होस् तथा ललितपुरको महापालमा रहेको लाइम लाईट एजिविसनको पसलवाट ती सवै कार्यको दुवैले मेहनतका साथ सरल तरीकाले गर्दैआएका छन्। अर्कोतर्फ महिला दिदीबहिनीका विविध क्षमता अभिबृद्धिका कार्यक्रमका अलावा व्यक्तित्व विकास तथा उदघोषण कला तालिम समेत दिने कार्य सालिका र निशाले गर्ने गरेका छन्।

दुवै एकाधिकार घरका सन्तान नभएतापनि दिदीबहिनी भन्दा धेरै नजिक छन्। दुवैका भावना र सोच दुवैले चिनेका छन्। र जानेका छन्। यसले गर्दा दुवै सफल छन्। दुवैको चिनाजानी काठमाडौंको कालिमाटी स्थित मल्टी लेभल स्मार्ट कन्सेप्ट मार्केटिङमा काम गर्ने क्रममा भएको हो। सालिका काठमाडौं नयां बजार खुशिबुँकी र निशा ललितपुर सानेपाकी हुन्। दुवैको सोच र विचार मिलेकोले कर्मथलो ललितपुरलाई बनाएका छन्।

दुवैले दुवैका नाम मिलाएर निसालिका बनाएका छन्। सालिका विवाहिता हुन भने, निशा अविवाहिता। दुवैको नयाँ सोच र विचारका कारण दुवैका घर–परिवारले मज्जाले साथ दिएका छन्। कोकिल कण्ठी निसालिकाका आवाजमा गजबको जादू पनि छ। समय सन्दर्भ जोडेर कठिन भन्दा कठिन उदघोषण कलालाई पनि सहज ढंगवाट सवैलाई मन्त्रमुग्ध वनाउने गरेर प्रस्तुत गर्ने क्षमता दुवैमा रहेका छन्। नृत्यको बेग्लै कला बचाता डान्समा पनि दुवै त्यतिकै पोख्त छन्।

सात वर्षअघि खल्तीमा पैसा नभएको बेला पनि आँट, धैर्य, साहसका अलावा वोली बेचेर व्यवसाय शुरु गरेको त्यो क्षणलाई निसालिकाले जीवनकै ठूलो उपलव्धीका रुपमा लिएका छन्। त्यो बेला निशासंग १ सय ५० रुपैया र सालिकासंग १ सय रुपैया मात्र थियो। सानेपाको एैट डिग्रीमा फुड फेस्टिबल भैरहेको दिन कुमारीपाटीको पानीपुरीवाला दाइसंग पानीपुरी प्लेटको १० मा किनेर त्यहाँ प्लेटको ३० मा बेचेर ४ घण्टामा ७ हजार कमाएको र त्यसवाट ५ हजार कमाएको क्षण दुवैका लागि अविस्मरणीय बनेको छ।

त्यस्तै पोखरामा आयोजित भृकुटी लाइफ स्टाइल तीज प्रोग्राममा पनि पाटनदेखि सुर्केथैली, क्युरियोका सामान लगायतका सामाग्री उधारो नै लिएर गएर लाखौको व्यापार गर्न सफलता प्राप्त गरेको घटनालाई पनि निसालिकाले संझेका छन्। वोली, बचन तथा व्यवहारलाई अर्को गुरुमन्त्रका रुपमा दुवैले प्रयोग गर्दैआएका छन्। जसलेगर्दा कयन लगानी नभएकाहरुका लागि पनि राम्रो ऊर्जा तथा आँट निसालिका बनेका छन्।

आफूहरुले तयार पारेका हस्तकलाका सीपमूलक सामाग्रीहरु निसालिकाको ललितपुर महापालमा पु-याउन ल्याउनेहरुको कमी छैन्। टाढा टाढावाट पनि कही नपाउने सामान त्यहाँ पाउंछ भन्ने माउथ पब्लिसिटीका कारण खोज्दै त्यहाँसम्म आउनेहरु धेरै भन्दा धेरै छन्। प्रारम्भमा जति धेरै दुःख गर्नुपरेतापनि हालभने त्यति धेरै निसालिकाले गर्नु परेका छैनन्। धैर्य, आँट, साहस र बोली नै उनीहरुको व्यवसायको सफलता हो। दुवैे यो सफल मन्त्र सिकाएर मालामाल बनाउने कार्यमा अहोरात्र लागिरहेका छन्।


(नामी साप्ताहिकवाट साभार)
प्रकाशन मिति–२०७५ साल चैत्र ३० गते शनिवार ।