काठमाडौं। बेलायतको राजधानी लण्डनमा मध्यराति निस्फिक्री रक्सीको मातमा रमेकी युवतीको मातको कथामा मादकपूर्ण गजबको गीतको भिडियो बेलायतवाट रिलिज भएको छ। बेलायतका लागि लोकप्रिय नेपाली राजदूत डा.दुर्गाबहादुर सुवेदीको गीत तथा कालजयी गायक रामकृष्ण ढकालको गायन तथा शिखर सन्तोषको संगीत रहेको अधर बोलको गीतको म्युजिक भिडियो रिलिज भएको हो।

चितवनको पर्सा टाँडीमा जन्मी–हुर्की बेलायतमा विगत आठबर्षदेखि फोटोग्राफी तथा भिडियोग्राफीमा अत्यन्त अग्रता कायम गर्दैआएका प्रभावशाली निर्देशक कुशल श्रेष्ठको निर्देशनमा अधर बोलको गीत बेजोड बनेको छ। प्रायः बलिउड तथा हलिउड चलचित्रमा देखिने लण्डनका दृश्यहरु ट्राफलगर स्क्वायर, अक्सफोर्ड स्ट्रिट, ओटु एरिना लगायतका स्थानहरुमा यो गीतको भिडियोलाई निर्देशक श्रेष्ठले कुशलता पूर्वक छायाँकन गरेर नयाँ आयाम कायम गरेका छन्।

डा.दुबसु क्षेत्री नेशनल डेभेलपमेन्ट फाउण्डेसनको प्रस्तुतिमा लण्डनस्थित केके मुभिजसंगको सहकार्यमा म्यूजिक भिडियो तयार भएको जानकारी निर्देशक श्रेष्ठले भिजन संसार डटकमलाई वताएका छन्। भिडियोमा सह–निर्देशन आशिष श्रेष्ठ र रंग संयोजन नविन निरौलाले गरेका छन् ।

बेलायती नेपाली समुदायमा सफल व्यवसायी र समाजसेवीका रुपमा स्थापित विष्णु खरेल यस भिडियो मार्फत मोडलिङमा पाइला टेकेका छन्। खरेलको पहिलो भिडियो भएतापनि उनको प्रस्तुतिमा कुनै कमी देखिएको छैन्। खरेललाई बेलायतमा स्थापित मोडल रोशना कार्कीले अभिनयमा मादकपूर्ण गजबको साथ दिएकी छन्।

बेलायतमा चर्चित मोडल कार्कीले बेलायतमै निर्मित आधा दर्जन भिडियोमा अभिनय गरिसकेकी छन्।। हालसम्म आफूले गरेका भिडियो मध्ये अधर सर्वोत्कृष्ट भएको पनि मोडल कार्कीले प्रतिक्रिया व्यक्त गरेकी छन्।

प्रकाशन मिति–२०७७ साल कात्तिक २ गते आइतवार ।