काठमाडौं। प्रेस स्वतन्त्रताको संरक्षण एवं ब्यापक अभ्यासमा सक्रिय हुनुपर्ने स्थानीय तह र जनप्रतिनिधिहरुले नै पत्रकारहरुलाई दुव्र्यवहार, आक्रमण प्रयास एवं क्यामेरा समेत तोडफोड गरेको घटनाप्रति नेवाः पत्रकार राष्ट्रिय दबू प्रेस विज्ञप्ति मार्फत घोर भत्सना गरेको छ।

नेवाः पत्रकार राष्ट्रिय दबूका महासचिव सुनिल महर्जनव्दारा जारी प्रेस विज्ञप्तिमा नुवाकोट जिल्ला, तारकेश्वर गाउँपालिकाको २०७७ असार १० गते बुधबार आयोजित गाउँसभामा गाउँपालिका अध्यक्षले नीति तथा कार्यक्रम प्रस्तुत गर्न लाग्दा समाचार संकलन गरिरहेका यस दबूका सदस्य त्रिशुली खबर साप्ताहिकका सम्पादक नवदीप श्रेष्ठ र मिक्स एफएमका प्रमुख विष्णुप्रसाद अधिकारीलाई दुव्र्यवहार गर्दै आक्रमणको प्रयास भएको तथा टिभी त्रिशुलीका समाचार प्रमुख सुजित भण्डारीमाथि भएको आक्रमण प्रयास, सवारी साधन तथा क्यामेरा समेत खोसेर तोडफोड गरिएको घटना अति नै निन्दनीय भएको उल्लेख छ।

त्यसमाथि, पत्रकार भण्डारी असुरक्षाकै कारण आफ्नो मोटरसाइकल घटनास्थलमै छोडी प्रहरीको सवारी साधनमा विदुर फर्कनु परेको अवस्थाले पनि पत्रकारिता क्षेत्रमा संरक्षण र प्रोत्साहन गर्नु पर्ने ब्यक्तिहरुबाटै जोखिम बढेको तर्फ इंगित गर्दछ भनेर उल्लेख गर्दै  तारेकश्वर गाउँपालिका वडा नं. १ का अध्यक्ष दयानिधि अधिकारी, वडा नं. ३ का अध्यक्ष सूर्यमान श्रेष्ठ र वडा नं.६ का अध्यक्ष ज्ञानेन्द्र तामाङको संलग्नतामा यो घटना भएको जिकिर गर्दै प्रेस स्वतन्त्रताका लागि कालो धब्बा बनेको यो घटनामा संलग्न दोषीमाथि कारवाहीका साथै क्षतिपूर्तिको जोडदार माग दबूले गरेको छ।

पत्रकारिता क्षेत्र मर्यादित र सुरक्षित बनाई पत्रकारहरुलाई सँधै प्रोत्साहित हुने वातावरण निर्माण गर्न जनप्रतिनिधि, प्रशासन तथा नागरिक समाज, सम्पूर्णमा अपिल गर्ने कार्य पनि दबूले गरेको छ। कोरोना संक्रमणको जोखिम रहेको बेला आफ्नो ज्यानको समेत पर्वाह नगरी क्रियाशील पत्रकारहरुलाई निरुत्साहित गर्ने यस्तो घटना नदोहोरिनेप्रति सबै प्रतिवद्ध भइदिन समेत अपिल दबूले गरेको छ।
प्रकाशन मिति–२०७७ साल असार १२ गते शुक्रवार ।