ललितपुर। नेपालको नृत्य क्षेत्रमा अत्यन्त लुकेको तथा विलक्षण प्रतिभाको रुपमा रहेकी नृत्य गुरुआमा हनी श्रेष्ठ सम्मानित हुने भएकी छन्। ७१ बर्षकी नृत्य गुरुआमा हनी श्रेष्ठलाई नृत्य–निर्देशक संघ नेपालले सम्मान गर्न लागेको हो।

यही चैत्र २२ गते काठमाडौको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना हुने भव्य सम्मान तथा सांस्कृतिक कार्यक्रममा नृत्य गुरुआमा हनी श्रेष्ठको सम्मान गरिन लागेको ललितपुरको जाउलाखेलमा आयोजित पत्रकार सम्मेलनमा आयोजक संघका केन्द्रिय अध्यक्ष भुवन श्रेष्ठले भनेका छन्।

नगद रु २५ हजार ५ सय ५५ का साथमा डि–डान पदकबाट सम्मान गरिने आयोजक संघका उपाध्यक्ष संजय राजोपाध्यायले बताए। ब्याले, कत्थक, चर्या, लोक लगायत नृत्य विधामा पोख्त नृत्य गुरुआमा हनी श्रेष्ठ प्रथम नृत्य प्राध्यापक हुन् । दुई दशकभन्दा बढी समयदेखि नृत्य प्राध्यापनमा सक्रिय गुरुआमा श्रेष्ठले नृत्यका पाठ्यपुस्तक समेत लेखेकी छन्।

सम्मान कार्यक्रमा आयोजक नृत्य निर्देशक संघ नेपालको भक्तपुर, ललितपुर, काभ्रे, काठमाडौं, चितवन लगायत विभिन्न शाखाहरु साथै कला सम्वद्ध संघसंस्थाको सहयोगमा विविध सांस्कृतिक कार्यक्रमको समेत आयोजना हुने भएको छ।

कला क्षेत्रलाई राज्यको पाँचौ अंगको रुपमा सरकारलाई घोषणा गर्न र गराउन नृत्य निर्देशक संघ नेपालको पहल रहेको र राज्यको पाँचौ अंगको रुपमा सरकारले तुरुन्त घोषणा गर्नु आवश्यक रहेको ठहर पनि आयोजक संघका केन्द्रिय अध्यक्ष भुवन श्रेष्ठको रहेको छ।

नृत्य निर्देशक संघ नेपाल स्थापना भएको दिन साउन २६ गते राष्ट्रिय नृत्य दिवसको रुपमा घोषण गर्न समेत श्रेष्ठको माग रहेको छ।

प्रकाशन मिति–२०७४ साल चैत्र १८ गते आइतवार ।