काठमाडौं। अढाई बर्षअगाडि भएको प्रतिनिधि सभाको निर्वाचनमा चुनाव हारेयता बारम्बार चर्चामा आइरहने गरेका नेकपाका प्रभावशाली नेता बामदेव गौतम नेकपाको उपाध्यक्ष बन्ने भएको छ। त्यसको लागि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले उपाध्यक्ष बनाउने प्रक्रिया सुरु गरिने भएको छ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा सोमबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको नेकपा सचिवालय बैठकले गौतमलाई उपाध्यक्ष बनाउन विधान संशोधन गर्ने प्रस्ताव स्थायी समितिको बैठकमा लैजाने निर्णय गरेको हो।

पार्टीको कार्यदिशा पनि वैज्ञानिक समाजवाद हुँदै साम्यवादतिर जाने बनाउने तयारीसमेत गरिएको जनाइएको छ। बैठकले यही मंसिर २९ गतेदेखि स्थायी समिति बैठक गर्ने निर्णयसमेत गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठको भनाई छ।

बैठकले केन्द्रीय विभाग र आयोगहरुलाई पूर्णता दिन सात दिनभित्र प्रस्ताव पेस गर्न प्रमुख र उपप्रमुखहरुलाई निर्देशनसमेत दिने कार्य भएको छ। बैठकले उपनिर्वाचन भएका ठाउँबाट समीक्षा प्रतिवेदन अनिवार्यरुपमा पठाउने पाँच दिनको समय थप गरेको छ।

प्रधानमन्त्री एवं पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओली भने बैठकमा उपस्थित भएनन्। उपचारपछि चिकित्सकले ओलीलाई आराम गर्न सुझाव दिएका छन्।
प्रकाशन मिति–२०७६ साल मंसिर २३ गते सोमवार ।