बुटवल। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ५ नंबर प्रदेशका सचेतक भूमेश्वर ढकालको निवासमा बम विस्फोट भएको छ। ढकालको सैनामैना नगरपालिका–७ स्थित निवासमा गएराति ३ वटा बम विस्फोट गराइएको हो।

इलाका प्रहरी कार्यालय, बुटवलका डीएसपी भीमलाल भट्टराईले ढकालको निवासमा गएराति बम विस्फोट भएको पुष्टि गरेका छन्। ढकालका बाबुआमा सुत्ने कोठा र उनले प्रयोग गर्दै आएको लु १ ज ४५६ नम्बरको कारलाई लक्षित गरेर बम विस्फोट गराइएको प्रहरीले जनाएको छ।

विस्फोटबाट कारको पछाडिको भागमा सामान्य क्षति पुगे पनि कोठामा भने क्षति भएको छैन। प्रहार गरिएको बम विस्फोट नभएकाले कोठामा क्षति नभएको बताइएको छ। विस्फोटको समयमा ढकालका बाबा–आमा र पत्नी घरमा सुतिरहेका थिए। सचेतक ढकाल भने घरमा थिएनन्। स्वास्थ्यमा समस्या देखिएपछि उनी केही समयदेखि काठमाडौंको मेडिसिटी अस्पतालमा उपचार गराइरहेका छन्।

प्रमुख सचेतक ढकाल प्रदेशसभाको गाडी खरिद अनियमितता प्रकरणमा मुछिएका पात्र हुन्। बाइक चढेर आएका ३ जना बम हानेर भागेको प्रत्यक्षदर्शीको भनाई रहेको छ। यद्यपि, उनीहरूको पहिचान नखुलेको प्रहरीले जनाएको छ। यसवारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ।
प्रकाशन मिति–२०७६ साल साउन ३१ गते शुक्रवार ।