काठमाडौं। नेपालको संविधान जारी भएपछि पहिलो पटक हुन लागेको नेकपा एमालेको १०‍औं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटीमा एक तिहाइ महिला निर्वाचित हुने भएका छन् । जसअनुसार २ सय २५ सदस्यीय दसौं केन्द्रीय कमिटीमा कम्तीमा ७५ जना महिलाको प्रतिनिधित्व हुनेछ। नेकपा एमालेको मौजुदा केन्द्रीय कमिटीमा महिलाको संख्या ३० जना मात्रै रहेको छ।

हाल नेकपा एमालेको केन्द्रीय कमिटीमा १ सय ९६ सदस्यीय छ । पदाधिकारी समावेशी बनाउनका लागि महिलालाई आरक्षणको व्यवस्था गरेको छैन । नेकपा एमालेले गत कात्तिक १२ गते भएको केन्द्रीय कमिटीको बैठकबाट विभिन्न क्लष्टरहरु छुट्टाएको थियो। भूगोल, समावेशी र खुला गरि ३ समूहमा विभाजन गरेको गरेको थियो ।

भूगोलतर्फ ४६ जनामा १६ जना, समावेशी ६६ जनामा २१ जना महिला र खुलातर्फ ९८ मध्ये ३३ जना महिला केन्द्रीय सदस्यमा निर्वाचित हुनेछन्। नेकपा एमालेले भूगोलतर्फ ४६ जना निर्वाचित हुँदा १६ जना महिला निर्वाचित हुने व्यवस्था गरेको छ । भूगोलभित्र प्रदेश, उपत्यका विशेष र सम्पर्क कमिटी भनेर तीनवटा समूहमा विभाजन गरेको छ। जसमा भूगोलबाट २ जनाका दरले ७ प्रदेशबाट १४ जना महिला निर्वाचित हुने छन्।

त्यसैगरी सम्पर्क मञ्च तथा उपत्यकामा विशेषबाट १-१ जना महिला निर्वाचित हुनेछन्। ७ प्रदेशबाट खुलातर्फ जनही ४ जनाको दरले २८ जना र सम्पर्क मञ्च तथा उपत्यका विशेषबाट १–१ जना गरि ३० जना निर्वाचित हुनेछन्।

प्रत्येक प्रदेशबाट ४ जना खुला र २ महिला, सम्पर्क मञ्च तथा उपत्यका विशेषबाट एक–एक खुला र महिला निर्वाचित भएका छन् । जसअनुसार प्रदेशबाट ४२ जना र उपत्यका तथा सम्पर्क मञ्चबाट ४ जना गरी ४६ केन्द्रीय सदस्य निर्वाचित हुन्छन्।
समावेशीतर्फ ६६ जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था एमालेले गरेको छ। जसमा जनजातितर्फबाट ७ जना, मधेशीतर्फ ५ जना, थारुतर्फ २ जना, दलिततर्फ ३ जना मुस्लिमतर्फ १, श्रमिकबाट २ जना पिछडिएको क्षेत्रबाट १ महिला महिला गरी २१ जना महिला निर्वाचित हुनेछन्।

त्यसैगरी खुलातर्फ ९८ जना मध्ये ३३ सदस्य महिला निर्वाचित हुनेछन् । संविधानले पार्टीका केन्द्रीय समितिहरु समावेशी बनाउनु पर्ने व्यवस्था गरेको छ । त्यसैअनुसार बनेको राजनीतिक दल सम्बन्धी ऐन २०७३ ले पनि कुनै पनि कमिटीमा एक तिहाई महिला हुनुपर्ने वाध्यकारी व्यवस्था गरेको छ । तर यसअघि भएको महाधिवेशनहरुमा नगन्य महिला नेताहरुले मात्रै खुलातर्फ प्रतिस्पर्धा गर्ने गरेका थिए । नवौं महाधिवेशनमा विन्दा पाण्डेले पनि खुलातर्फ प्रतिस्पर्धा गरेकी थिइन् । तर यसपटक भने नेकपा एमालेका महिला नेताहरुले पदाधिकारी दाबी गर्ने तयारी रहेका छन् ।
प्रकाशन मिति–२०७८ साल मंसीर ७ गते मंगलवार ।