Late King Birendra Bir Bikram Shah

काठमाडौ। नेपालका अत्यन्त लोकप्रिय स्वर्गवासी राजा बीरेन्द्र बीर बिक्रम शाहदेवको आज पुष १४ गते ७३ औं जन्मजयन्ती परेको छ। विसं.२०५८ साल जेष्ठ १९ गतेको राजदरवार हत्याकाण्डमा राज बीरेन्द्रको बंश नै नाश गरिएको थियो। त्यसअघि पुष १४ गतेका दिन राजा बीरेन्द्रको धुमधामकासाथ जन्मोत्सव मनाउने गरिन्थ्यो।

Late King Birendra with Late Queen Aishwarya Shah

राजाको जन्मदिन भनेर बाल–बच्चादेखि बृद्ध–बृद्धासम्म सवै रमाउने गरिन्थ्यो। अव त्यो केवल इतिहास मात्र बन्न पुगेको छ। विश्वसामु नेपाललाई शान्ति क्षेत्र घोषणा गरियोस् भनेर अभियान थालेका राजा बीरेन्द्र अत्यन्त शान्तिप्रेमी राजाको रुपमा लिइन्छ। नेपाली जनताको मनोभाव बुझेर विसं.२०४६ सालको जनआन्दोलनमा सहज रुपमा बहुदलीय व्यवस्था स्थापना गरेर आफू सेरोमोनियल किङ बनेका थिए।

राजा बीरेन्द्रको त्यो त्यागलाई राजनीतिक दलहरुले खासै उपयोग गर्न नसकेको तथा त्यसैवेला विसं.२०५२ साल फाल्गुणवाट माओवादी जनयुद्ध जस्ता घटना परिघटनामा राजाको स्वच्छ छविलाई तत्कालिन नेपाली राजनीतिका मसिहा भन्नेहरुले धुमिल बनाउने कार्य हुनु र राजदरवार हत्याकाण्डले राजा बीरेन्द्रकै बंशनाश हुनुलाई नेपालकै दूर्भाग्यकै रुपमा लिइएको छ।

यिनै नेपाली जनताका अत्यन्त प्रिय राजा बीरेन्द्रलाई संझ्नेहरु अझै धुरुधुरु रुने गर्दछन्। राजा बीरेन्द्र भएको भए, नेपालको दूर्गति नहुने उनीहरुको प्रतिक्रिया हुने गरेको छ। राजा बीरेन्द्रको ७३ औं जन्मजयन्तीको अवसरमा योगी नरहरिनाथ ट्रष्ट आध्यात्मिक परिषदले जावलाखेलमा रहेको राजा वीरेन्द्रको शालिकमा माल्यार्पण गरेर जन्मजयन्ती मनाउने कार्य भएतापनि राजावादी पार्टीहरुले समेत राजा बीरेन्द्रलाई खासै संझना नगरिनुलाई विडम्बना नै मानिएको छ।

प्रकाशन मिति–२०७४ साल पुष १४ गते शुक्रबार ।