काठमाडौं। नेपालका उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले शुक्रवार आयोजित कार्यक्रममा मरणोपरान्त अङ्ग दान गर्ने घोषणा गरेका छन्।

विश्व मिर्गौला दिवसका अवसरमा ‘मिर्गौला स्वास्थ्य जहाँसुकै जोसुकैको लागि’ भन्ने नाराका साथ शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर र आरोग्य प्रतिष्ठान पुुल्चोक ललितपुरको संयुक्त आयोजनामा भक्तपुरमा भएको दशौँ नेपाल प्रत्यारोपण खेलकूद प्रतियोगितामा उपप्रधानमन्त्री यादवले अङ्ग दान गर्ने घोषणा गरेका हुन् ।

यस्तै सोही कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री डा।सुरेन्द्रकुमार यादव र नेपालका लागि कोरियाली राजदूत पार्क योङले मरणोपरान्त अङ्ग दान गर्ने घोषणा गरेका छन् । उनीहरुलाई मरणोपरान्त काम लाग्ने सबै अङ्ग दान गरेको कार्ड कलाकारद्वय हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठले प्रदान गरेका थिए।

कलाकारद्वय श्रेष्ठ र आचार्य, नेपालका लागि कोरियाली राजदूत योङ, अष्ट्रेलियाका राजदूत पिटर वर्ड, केन्द्रका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठ, डा.राकेशकुमार वर्मालगायतले मानव अङ्ग दान गर्नेबारे आम नागरिकलाई जानकारी दिनुपर्नेमा जोड दिएका थिए । बाचुञ्जेल रक्तदान र मरेपछि अङ्ग दान’ गर्नेबारे जनचेतना फैलाउनुपर्ने उनीहरुले बताए ।
प्रकाशन मिति–२०७५ साल फागुन ३० गते विहीवार ।