काठमाडौं। चीनका नागरिक चिनियाँहरुले प्रणाली ह्याक गरेर पैसा लुट्न प्रयोग गरेका एटीएमका सम्बन्धित बैंकहरुलाई भिसा नेटवर्कले लुटिएको रकम फिर्ता गरेको छ। अघिल्लो हप्ताको शनिवार चिनियाँहरुले दिउँसो विभिन्न ६ बैंकको एटिएम बुथबाट पैसा झिकेका थिए।

उनीहरुले भारत र नेपालबाट करिव साढे ३ करोड झिकिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। नेपालबाट झिकिएको पैसा बैंकहरुलाई फिर्ता गरिएको हो।

नबिलको ७० लाख, नेपाल इन्भेष्टमेन्ट बैंकको ५० लाख र नेपाल एसबिआइ बैंकको २१ लाख रुपैयाँ फिर्ता गरिएको छ। यसैगरी कुमारी, मेगा र एभरेष्ट बैंकको पैसा पनि फिर्ता भएको छ। लुटेराहरुले ग्लोबल आइएमइ, प्रभु, माछापुच्छ्रे, जनता, एनआइसी एसिया, सनराइज र सिटिजन्स बैंकको एटिएम कार्ड प्रयोग गरेर पैसा लुटेका थिए।

सिङ्गापुरबाट आएको टोलीले लुटेराहरुले कसरी पैसा लुटे भन्ने विषयमा फरेन्सिक जाँच गरिरहेको छ। भारतबाट भने के कति रकम लुटियो भन्ने अनुसन्धान जारी नै छ। अहिलेसम्म भारु १ करोड ५ लाख लुटिएको देखिएको छ।
प्रकाशन मिति–२०७६ साल भदौं २२ गते आइतवार ।