काठमाडौ। धरानको बीपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा कार्यरत एक महिला सुरक्षा गार्डले नेपालका ख्यातिप्राप्त हाँस्य कलाकार सन्तोष पन्तलाई आफूमाथि यौन दूव्र्यवहार गरेको आरोप लगाएकी छन्। केटीएम सेक्युरिटी मार्फत प्रतिष्ठानमा कार्यरत ती महिलाले हाँस्य कलाकार पन्तलाई स्पष्ट किटानीका साथ शनिवार इलाका प्रहरी कार्यालय धरानमा लिखित उजुरी दिएकी थिइन्। जसले गर्दा केटीएम सेक्युरिटीका ब्राण्ड एम्वास्डर समेत रहेका पन्त विवादमा मुछिएका छन्।

Vetran Comedy Artist Santosh Panta
Vetran Comedy Artist Santosh Panta

नयाँ पत्रिका दैनिकमा प्रकाशित समाचार अनुसार जाहेरीमा ती महिलाले शुक्रबार मध्यरातमा केटीएम सेक्युरिटीका अध्यक्ष रामेश्वर साहसँग आएका पन्तले आफ्नो संवेदनशील अंगमा छुने काम गर्नुका साथै व्यक्तिगत जीवनसँग सम्बन्धित प्रश्न पनि सोधेर थप पीडा दिएको उजुरीमा उल्लेख रहेको इलाका प्रहरी कार्यालय धरानका डीएसपी ढकेन्द्र खतिवडाले बताए।

केटीएमका अध्यक्ष साह, निरीक्षक विष्णु कोइराला, हेडगार्ड राजेन्द्र तामाङ पनि महिला होस्टेलमा पुगेका थिए । महिला होस्टेलमा राति ११ बजेपछि कसैलाई प्रवेश नदिइने भए पनि प्रमुख स्वयम् आएकोमा ढोका खोलिएको उनको भनाइ छ। उनले अध्यक्ष साहले पनि श्रीमान भए-नभएको, छोराछोरी भए-नभएको, काम गरेपछि र अगाडिको शारीरिक तौल र नाप के कति घटबढ भएको लगायत प्रश्न गरेको उजुरीमा उल्लेख छ।

यस संवन्धमा इलाका प्रहरी कार्यालयले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ। कलाकार पन्तले भने यस बारेमा आधिकारिक धारणा दिएका छैनन्।

प्रकाशन मिति–२०७३ साल असोज २ गते आइतवार ।