काठमाडौं। नेपालका जेलहरुमा १ हजार ३ सय विदेशी कैदी र बन्दी भएको खुलासा भएको छ। नेपाल सरकारको कारागार व्यवस्था विभागको आँकडा अनुसार, हाल नेपालका ७४ मध्ये ३१ जेलमा झन्डै १ हजार ३ सय विदेशी कैदी र बन्दी भएको खुलासा भएको हो।

विदेशी सहित नेपालमा कुल कैदीबन्दीको सङ्ख्या झन्डै २४ हजार रहेको छ। अदालतले दोषी ठहर गरेका कैदी र मुद्दाको फैसला हुन बाँकी भएका तर न्यायिक हिरासतमा राखिएका विदेशी बन्दीहरू साइबर अपराध, लागुऔषधि तस्करी, यौन दुराचार र हत्या आदि विभिन्न अभियोगमा पक्राउ परेका हुन्। सबैभन्दा बढी विदेशी कैदीबन्दी पर्सा जेलमा रहेका छन्। सो कारागारमा २ सय १२ जना भारतीय र दुई पाकिस्तानीलाई राखिएको छ।

सेन्ट्रल जेल सुन्धारा, काठमाडौंमा १ सय २४ जना विदेशी कैदीबन्दी छन्। तीमध्ये ६२ जना भारतीय र १२ जना चिनियाँ रहेको जेल प्रमुख लक्ष्मीप्रसाद बाँस्कोटाको भनाई रहेको बीबीसीले उल्लेख गरेको छ। सो कारागारमा २९ जना महिला बन्दीहरू रहेका र तीमध्ये अधिकांश लागुऔषधको कसुरमा जेल परेका रहेको जेलर बाँस्कोटाले बताए। चर्चित विदेशी कैदी चार्ल्स शोभराज पनि सुन्धारामै छन्।

धेरै कैदीबन्दी राखिने ललितपुरको नख्खु जेलमा कैद १ सय १९ विदेशी नागरिकमध्ये ९४ जना भारतीय छन्। त्यहाँ चीन, रोमानिया, नाइजिरिया र यूके समेत १७ वटा देशका नागरिक कैद रहेको सूचना अधिकारी नरेन्द्र परियारको भनाई छ। झापा जेलमा ५७ जना भारतीय र ३७ जना भुटानी पनि छन्। सबै भुटानीहरू लामो समयदेखि झापामा बस्दै आएका शरणार्थी भएको बताइएको छ।
(बीबीसी नेपाली सेवाको सहयोगमा)
प्रकाशन मिति–२०७६ साल पुस ११ गते शुक्रवार ।