ज्यापु संस्कृति विकास कोषलाई दुई प्रधानमन्त्रीले दिने भनिएको २१ लाख पन्ध्र दिनभित्र दिइने

काठमाडौं। नेपालका धर्तीपुत्र काठमाडौं उपत्यकाको आदिवासी ज्यापु सम्प्रदायले शनिवार पन्ध्रौ राष्ट्रिय ज्यापु दिवस मनाएको छ। ज्यापु संस्कृति विकास कोषको आयोजनामा काठमाडौंमा भव्य रुपमा ज्यापु दिवस मनाएको हो। काठमाडौंमा धर्तीपुत्र ज्यापुहरुले परम्परागत बाजागाजा सहित शहर परिक्रमा गरेर ज्यापु दिवस मनाएका हुन्।

यस अवसरमा काठमाडौंको बसन्तपुरमा आयोजित समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले धर्तीपुत्र आदिवासी ज्यापुहरुलाई राष्ट्रिय ज्यापु दिवसको अवसरमा हार्दिक बधाई तथा शुभकामना दिदै ज्यापु संस्कृति विकास कोषलाई सरकारले ओली नौ महिने प्रधानमन्त्री हुंदा दिने भनेको ६ लाख र प्रचण्ड प्रधानमन्त्री हुंदा दिने भनिएको १५ लाख गरेर २१ लाख रकम यो पन्ध्र दिनभित्र दिने निश्चित गरेका छन्। 

कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौं महानगरपालिकाको २४ औं महानगर दिवसमा ज्यापु सम्प्रदायको उल्लेखनिय साथ र सहयोग भएको उल्लेख गर्दै परम्परागत ज्यापु सम्प्रदायका अमूर्त संस्कृतिका १ सयभन्दा बढी बाजा गुरुहरुलाई जनही नगद २५ हजार राशीको पुरस्कार प्रदान गरेको बताए।

पन्ध्रौ राष्ट्रिय ज्यापु दिवसको अवसरमा तीन दशकदेखि फोटोपत्रकारिता गर्दैआएका फोटोपत्रकार आशाकाजी महर्जन, सगरमाथाको सफल आरोहण गर्ने महिला पत्रकार कल्पना महर्जन लगायत दर्जनौलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो।

प्रकाशन मिति–२०७५ साल पुष ७ गते शनिवार ।