काठमाडौ। नेपालका पूर्वराजा ज्ञानेन्द्र शाहले रुखवाट पात झरेपनि जरा परिवर्तन नहुने तर्क गरेका छन्। प्रकृतिसंग धेरै कुरा सिक्न सकिने बताउंदै ज्ञानेन्द्रले हिंड्ने बाटो फरक भएपनि सिद्धान्तमा भने निष्ठावान भएर अडिग रहिरहनुपर्ने जिकिर समेत गरेका छन्।

ज्ञानेन्द्रले सोमवार भारत जानुअघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा संचारकर्मीहरुसंगको संक्षिप्त कुराकानीमा बडा गर्बकासाथ भनिएको यो कुरा चर्चाको विषय नै बनेको छ। राज संस्था भनेको रुखको जरासंग तुलना गर्दै त्यो जरावाट नयाँ पात उम्रन सक्ने संकेत दिएको हुनुपर्ने राजावादीहरुको तर्क रहेको छ।

नेपालका पूर्वराजा ज्ञानेन्द्र शाह संकटमा रहेको भारतीय देसी गाई जोगाउन सक्रिय श्रीमार्ग नामको संगठनले गर्न लागेको कार्यक्रममा सहभागी हुन भारतको उडिसातर्फ लागेका हुन्। यसअघि नेपागन्जमा करिब एक महिना बसेर शाहले हिन्दु राज्य र राजतन्त्रको पक्षमा वकालत गर्न भ्याएका थिए। त्यो बेला उनी उत्तर प्रदेशका मुख्यमन्त्रीकहाँ पुगेर यी दुई कुराको लविङमा सक्रिय भएका थिए।

यो भ्रमणमा पनि पूर्वराजाले नेपालमा हिन्दुत्वको मुद्दाबारे भारतीय नेताहरुसँग कुरा हुन सक्ने जनाउ दिएका छन्। पूर्वराजा शाह विमानस्थलमा पुग्दा राष्ट्रिय झण्डा बोकेर राजावादी र हिन्दुवादीहरु बिदाईका लागि पुगेका थिए । उडिसामा शनिबारदेखि आगामी बुधबारसम्म हुन लागेको गौ स‌ं‌रक्षण महोत्वसमा शाहलाई प्रमुख अतिथिकारुपमा बोलाइएको छ। उनलाई पठाइएको निमन्त्रणमा नेपालका राजाकै हैसियत दिइएको छ।

पछिल्लो समय धार्मिक गतिविधिमा सक्रिया पूर्वराजाले भारतमा पनि महोत्सवको अन्तिम दिन महायज्ञमा पूर्णाहुति दिने तालिका आयोजले सार्वजनिक गरेको छ। रोचक कुरा त के छ भने नेपालबाट राजसिंहासन खोसिएका ज्ञानेन्द्रलाई उडिसामा भारतीय हिन्दुवादीहरुले राजसिंहासनमै राखेर अभिषेक पनि गर्ने भएका छन्।

प्रकाशन मिति–२०७४ साल माघ २२ गते सोमवार ।