B P Koirala 3काठमाडौ। नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली साहित्यका विशिष्ट व्यक्तित्व विश्वेश्वरप्रसाद कोइरालाको ३४ औं स्मृति दिवस आज विहीवार परेको छ। बीपी स्मृति दिवसमा नेपाल र नेपाल बाहिर विभिन्न कार्यक्रम गरेर बीपीको योगदानलाई संझ्ने कार्य भएको छ।

वि.सं. १९७१ भदौ २४ गते जन्मिएका बीपीको घाँटीको क्यान्सरका कारण २०३९ साल साउन ६ गते निधन भएको थियो। क्रान्तिदृष्टा, सिद्धान्तनिष्ठ र अटल राष्ट्रवादका धनी बीपी साहित्यमा अराजक र राजनीतिमा व्यवहारवादी थिए। उत्पीडन, कठोर यातना र अत्यन्त कठिन अवस्थामा पनि राष्ट्रियता र प्रजातन्त्रप्रतिको आधारभूत निष्ठालाई नत्याग्ने बीपीले जीवनभर देश र जनताकै लागि संघर्ष गरे।

B P Koirala 1

वि.सं. २००७ सालको क्रान्तिका योद्धा बीपीले तत्कालीन राजा महेन्द्रसँगको लडाइँमा गरिने आन्दोलनमा शान्तिपूर्ण क्रान्तिको बाटो रोजेका थिए । क्रान्तिमा हिंसाको बाटो सजिलो भए पनि हामीले यो बाटो सजिलो हुन्छ भनेर रोज्नु हुन्न भन्ने भनाइमा बीपी सधैं अडिग थिए। २००३ सालमा नेपाली राष्ट्रिय कांग्रेस स्थापना गर्नुभएका उनी भारतीय स्वतन्त्रता आन्दोलनमासमेत संलग्न भएका थिए।

भारतका पहिलो राष्ट्रपति राजेन्द्रप्रसाद, प्रधानमन्त्री जवाहरलाल नेहरु, समाजवादी नेताहरु जयप्रकाश नारायण, राममनोहर लोहिया जस्ता नेतासँग उनको प्रत्यक्ष बसउठ थियो। बी.पी. कोइरालाले मुलुकमा प्रजातन्त्रको स्थापना र राष्ट्रय हित प्रबद्र्धनका लागि कयौं पटक जोखिम मोलेका थिए। राणाशासनको अन्त्य गरी मुलुकमा प्रजातन्त्र स्थापना गर्ने २००७ सालको क्रान्तिको नेतृत्व गर्नुहुने कोइराला २०१५ सालमा भएको पहिलो आम चुनावपछि जननिर्वाचित पहिलो प्रधानमन्त्री बने ।

कोइरालालाई अपदस्थ गरी २०१७ सालमा राजा महेन्द्रले निरंकुश पञ्चायती व्यवस्था लागु गरेपछि थुप्रै वर्ष उनले जेल जीवन विताए। प्रजातान्त्रिक समाजवादका पक्षधर वीपी सधै ग्रामीण अर्थतन्त्रमुखी विकासका चिन्तक थिए। २०१५ सालमा प्रथम पटक जननिर्वाचित प्रधानमन्त्रीका रुपमा वीपीले अंगिकार गर्नुभएको आर्थिक सुधार र परिवर्तनको बाटो लोकप्रिय भइरहेकै बेला तत्कालीन राजा महेन्द्रले सैनिक सहयोगमा वीपीलाई अपदस्थ गरी शासन व्यवस्था आफ्नै हातमा लिएका थिए। पञ्चायती व्यवस्थाविरुद्ध निरन्तर संघर्ष गरेका कोइरालाले देशको राष्ट्रियता कमजोर बन्दै गएका बेला २०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति अख्तियार गरी भारत प्रवासबाट स्वदेश फर्किएका थिए।

B P Koirala 2

संवैधानिक राजतन्त्र र प्रजातन्त्रका पक्षमा आफूलाई उभ्याउनु भएका स्वर्गीय कोइराला नेपाली जनताको अधिकार रक्षाका लागि निरन्तर संघर्षरत भए। आफ्नो आस्था, आदर्श, सिद्धान्तबाट कहिल्यै पछि नहट्ने एक महान् राष्ट्रवादी चिन्तक स्वर्गीय कोइराला नेपाली राजनीतिमा मात्र नभई साहित्यका फाँटमा पनि त्यतिकै चर्चित थिए। कोइरालाका आत्मकथा, जेल जीवन, दोषी चस्मा, यहुदी र हिटलर, सुम्निमा, मोदीआइन, स्वेत भैरवी, तीन घुम्ती, नरेन्द्र दाईलगायतका थुप्रै बहुचर्चित कृति प्रकाशित छन्।
प्रकाशन मिति–२०७३ साल साउन ६ गते विहीवार ।