काठमाडौ। नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिन पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासी नेपाल आएका छन्। नेपाल आएको लगतै पाकिस्तानी प्रधानमन्त्री र नेपालका प्रधानमन्त्री बीच द्विपक्षीय भेटवार्ता भएको छ।

भेटवार्तामा अब्बासीले प्रधानमन्त्री ओलीलाई बधाई तथा शुभकामना दिएका छन्। दुवै बीच पारस्परिक हित र चासोका विषयमा वार्ता भएको समाचार स्रोतको भनाई रहेको छ।

काठमाडौको टुँडिखेलस्थित सैनिक मञ्चमा पाकिस्तानी प्रधानमन्त्री अब्बासीलाई गार्ड अफ अनरले सम्मानित गरेपछि नेपालका प्रधानमन्त्री ओलीको होटल याक एन्ड यतिमा भेटवार्ता भएको हो।

वार्तापछि दुवै प्रधानमन्त्री रात्रिभोजमा सहभागी बने। सोमबार नेपाल आएका पाकिस्तानी प्रधानमन्त्री अब्बासीलाई विमानस्थलमा अर्थमन्त्री डा. युवराज खतिवडाले स्वागत गरेका थिए।

मंगलबार बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र पाकिस्तानी प्रधानमन्त्री अब्बासी बीच भेटवार्ता हुने छ। अपरान्ह राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटघाटपछि अब्बासी स्वदेश फर्किनेछन्। पाकिस्तानका प्रधानमन्त्री अब्बासी ओली प्रधानमन्त्री भएपछि आएका पहिलो विदेशी सरकार प्रमुख हुन्।

प्रकाशन मिति–२०७४ साल फागुन २१ गते सोमवार ।