काठमाडौ। नेपालमा बोलिने अधिकांस राष्ट्र भाषा लोप हुने स्थितिमा पुगेकोप्रति सरोकारवाला पक्षले ध्यानाकर्षण गराएको छ । नेपालभाषा क्लब टोखाले आयोजना गरेको कार्यक्रममा उनीहरुले राष्ट्र भाषा संकटमा परेको भन्दै संरक्षणको लागि पहल थाल्न सचेत गराएका हुन्।

कार्यक्रममा बोल्नुहुँदै भाषासेवी डा.महेशमान श्रेष्ठले राष्ट्रिय विभूति सिद्धार्थ गौतम बुद्धको ‘पाली भाषा’ देखि ‘संस्कृत भाषा’ पछिल्लो समय मृततुल्य भएकोप्रति चिन्ता व्यक्त गरे। सन् २०११ मा लिइएको जनगणना अनुरुप नेपालमा १२३ प्रकारका फरक भाषा बोल्छन्। ती मध्ये नेपाली बाहेक अधिकांस राष्ट्र भाषा संरक्षणको पर्खाइमा रहेको डा.श्रेष्ठको भनाई थियो।

त्यस्तै, भाषासेवी विद्यादेवी चित्रकारले पनि राष्ट्र भाषा संरक्षणको लागि घर–घर देखि अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिइन्। नेपाल सरकारले विसं.२०७३ भदौ २३ गते बिहिबार गठन गरेको भाषा आयोगलाई राष्ट्र भाषा तथा लिपि सम्बन्धिको विकास मापन गरी सुझाव दिन भनेको छ।

नेपालको संविधान २०७२ को धारा २८७ ले पनि भाषा आयोगको काम, कर्तव्य र अधिकार उल्लेख गरेको छ । यो आधारले पनि नेपालका राष्ट्र भाषा, मौलिक लिपि संरक्षण र प्रयोगमा चासो देखाउनु आवश्यक छ। बहुभाषिक देश नेपालमा राष्ट्र भाषा संरक्षण गर्ने नाउँमा भाषा आयोग बनाएर सुझाव दिन भनिरहेको अवस्थामा माध्यमिक तहमा पाठ्यक्रम नै परिमार्जित गर्नुपर्नेप्रति सरोकारवाला पक्षले सुझाएको हो।

भाषा बचाउ अभियान सन्चालन गर्दै आएको नेपालभाषा क्लबले काठमाडौंको टोखामा एक कार्यक्रमकाबीच वाक कला क्षमता अभिवृद्धि प्रशिक्षणमा सहभागी ४५ जनालाई प्रमाण–पत्र दिइएको संयोजक श्रीकृष्ण मानन्धरले बताएका छन्। सञ्चारकर्मी केके मानन्धरले प्रशिक्षण दिएको १५ दिने कार्यक्रममा स्थानिय जनप्रतिनिधि, शिक्षक, साहित्यकार देखि युवाहरुको उत्साहप्रद सहभागिता थियो।

विगत केही वर्ष यता देखि राष्ट्र भाषा प्रयोग सम्बन्धि जनचेतना जगाउन क्लबले व्यानर प्रदर्शन गर्ने, युवाहरुको अन्तरनिहीत व्यक्तित्व विकास गराउने, सम्बन्धित क्षेत्रलाई सचेत गराउने लगायतका कार्यक्रम गर्दै आएको क्लबका नमस्ते साय्मिले जानकारी दिए।

उनले नेपालभाषा क्लबको शाखा बिस्तार अभियान देशैभर शुरु भइरहेको जानकारी दिँदै भक्तपुरको मध्यपुर थिमि, काठमाडौंको कीर्तिपुर तथा टोखा, ललितपुर, हरिसिद्धिलगायतका शाखाले पनि आ–आफ्ना गतिविधि सन्चालन गर्दै आएको बताए। औपचारिक कार्यक्रम पश्चात् टोखाका युवा युवतीहरुले मौलिक भेषभुषामा सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए।
प्रकाशन मिति–२०७५ साल जेठ २८ गते सोमवार ।