काठमाडौ। नेपालका वरिष्ठ न्यूरो सर्जन डाक्टर उपेन्द्र देवकोटाको निधन भएको छ। पित्त नलीको क्यान्सरबाट पीडित देवकोटाको सोमबार साँझ ५ः३५ बजे वासवारी स्थित न्यूरो अस्पतालमा निधन भएको न्यूरो अस्पतालले जनाएको छ।

बेलायतमा ६ महिना भन्दा लामो उपचार गरे पनि निको नभएपछि देवकोटालाई बैशाख पहिलो साता नेपाल ल्याइएको थियो। त्यस पछि देवकोटाले नै स्थापना गरेको न्यूरो अस्पतालमा उपचार गरिएको थियो। पछिल्लो समय रोगले च्याप्दै लगेपछि देवकोटाको अधिकांश अंगले काम गर्न छोडिसकेको थियो।

नेपाल फर्किएदेखि नै देवकोटाको उपचारमा विभिन्न अस्पतालका विशेषज्ञहरु संलग्न थिए। चिकित्सकका अनुसार पछिल्लो समय उनको क्यान्सर फोक्सोभर फैलिइसकेको थियो। त्यसकै विशाक्त असरका कारण मृगौलाले पनि काम गर्न छोडेको थियो। पछिल्लो केही दिनदेखि भने क्यान्सरका कडा औषधि बन्द गरेर देवकोटालाई सहज हुने औषधि मात्र दिइएको थियो।

देवकोटाको पार्थिव शरिरलाई मंगलबार विहान ८ बजेदेखि दिउँसो १ बजेसम्म श्रद्धाञ्जलीको लागि न्यूरो अस्पतालमा राखिने सोही अस्पतालले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।


प्रकाशन मिति–२०७५ साल असार ४ गते सोमवार ।