Binod Chaudharyकाठमाडौ। संयुक्त राज्य अमेरिकाबाट प्रकाशन हुने चर्चित म्यागेजिन ‘फोर्ब्स’ले सन् २०१६ का विश्वका अर्बपतिको सूचीमा नेपालका उद्योगपति विनोद चौधरीलाई पुनःसमावेश गराएको छ।

चौधरी समूहका अध्यक्ष चौधरीको सम्पत्ति १.१ बिलियन अमेरिकी डलर अर्थात् करिब रु एक खर्ब १० अर्ब रहेको ‘फोब्र्स’ले उल्लेख गरेको छ। म्यागेजिनले बुधबार सार्वजनिक गरेको सूचीमा उनलाई विश्वका अर्बपतिको एक हजार ५७७ औं स्थानमा राखेको छ।

चौधरीका भारत, बङ्गलादेश, श्रीलङ्का, सर्बिया, साउदी अरब, रुवान्डा लगायतका देशमा लगानी छ। नबिल बैंक एवम् सिजी इलेक्ट्रोनिक लगायत कम्पनीका मालिक ६० वर्षीय चौधरीले गत वैशाख १२ को भूकम्प र त्यसपछिका परकम्पबाट भत्किएका विद्यालय एवम् घर निर्माणका लागि २.५ मिलियन डलर अर्थात् रु २५ करोड सहयोग गर्नुभएको फोर्ब्सले उल्लेख गरेको छ। उक्त म्यागेजिनले विश्वको एक नम्बर सूचीमा अमेरिकी खर्बपति बिल गेट्स नै परेको उल्लेख गरेको छ। रासस
प्रकाशन मिति–२०७२ साल फागुन २८ गते शुक्रवार ।