काठमाडौ। नेपालका साहसिक पाँच महिला सशक्त पत्रकारहरु विश्वको अग्लो शिखर सगरमाथा आरोहण गर्ने लगभग अन्तिम तयारीमा पुगेका छन्। विभिन्न संचार माध्यमहरुमा आवद्ध पाँच महिला पत्रकारहरु रोशा बस्नेत, प्रियालक्ष्मी कार्की, कल्पना महर्जन, रोजिता बुद्धाचार्य र देउराली चामलिङको साहसिक टोलीले सगरमाथा आरोहण गर्ने तयारी लगभग पूरा गरेको हो।

सगरमाथा आरोहणको लागि काठमाडौवाट आगामी १ अप्रिलमा सगरमाथातिर प्रस्थान गर्ने जानकारी टोलीमा आवद्ध पत्रकार देउराली चामलिङले भिजन संसारलाई भनेकी छन्। पत्रकार चामलिङका अनुसार, मे महिनामा विश्वको अग्लो शिखर सगरमाथाको आरोहण गर्ने भएको छ। त्यसअघि ६ हजार १ सय १९ मिटर अग्लो लोबुचे हिमाल आरोहण गर्ने जानकारी पत्रकार चामलिङले दिएकी छन्।

यसअघि उनीहरुले रामडुङ हिमाल, यलुगरी हिमालको सफल आरोहण गरिसकेका छन्। सगरमाथा आरोहण अभियानका लागि उनीहरुलाई नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी देखि विभिन्न दलका नेताहरुले सफल आरोहणका लागि हार्दिक बधाई तथा शुभकामना दिएका छन्। विभिन्न व्यक्ति तथा संघ–संस्थाहरुले सहयोग प्रदान गर्ने पनि भएका छन्।


प्रकाशन मिति–२०७४ साल फागुन ८ गते मंगलवार ।