काठमाडौं। नेपालका १६ औं राष्ट्रिय विभुती तथा किराँत धर्मका प्रवर्तक फाल्गुनन्द लिङ्देनको जन्मजयन्ती पूर्वी नेपालका विभिन्न जिल्लामा आज मनाउनेका कार्य भएको छ। त्यसको अलावा काठमाडौंको पाशुपत क्षेत्र पशुपतिनाथ परिसरको गोरखनाथको आँगनमा पनि फाल्गुनन्दको जन्मजयन्ती मनाउने कार्य भएको किराँत कुलका धर्मगुरु नारायण लिंखा देवानले वताएका छन्।

यसअवसरमा किराँत धर्मगुरु देवानले त्यहाँ बहुउपयोगी आयुर्वेदिक औषधि गुर्जोको बेर्ना निःशुल्क वितरण गर्ने कार्य पनि गरेका छन्। देवानले किराँत धर्मका प्रवर्तक फाल्गुनन्दको किराँत धर्ममा अत्यन्त योगदान रहेको र उहाँ चमत्कारिक राष्ट्रिय विभुती भएको पनि बताएका छन्।

आजभन्दा ८९ वर्ष अघि किरात समुदायका अगुवाहरुलाई भेला गराएर जन्म, विवाह र मृत्यु संस्कारमा मासु र मदिरा चलाउन नहुने सहमतिपत्रमा सहीछाप गराउने कार्य पक्कै पनि सामान्य थिएन । सामाजिक कुरीति र विकृति हटाउन किराती वेद मुन्धुमका व्याख्याता एवं समाज सुधारक फाल्गुनन्द लिङ्देनको नेतृत्वमा विसंं १९८८ वैशाख २५ गते पाँचथरको लेबे्रकुटीमा मांसाहार र मदिरा सेवन निषेध गर्ने सहमति सम्भव भएको थियो।

यो घटनालाई इतिहासमा ‘सत्य हाङ्मा (धर्म) मुचुल्का’को रुपमा चिनिन्छ ।
किराँत धर्मको समाज सुधारकको रुपमा परिचित उनै महागुरु फाल्गुनन्द लिङ्देनको १३६ औँ जन्मजयन्ती आज किरात धर्मावलम्बीहरुले धुमधामका साथ मनाउने कार्य भैरहेको छ।

नेपाल सरकारबाट विसं.२०६६ साल मङ्सिर १६ गते राष्ट्रिय विभूति घोषित महागुरु फाल्गुनन्दको जन्म विसं १९४२ साल कात्तिक २५ गते आइतबार प्रदेश नबर १ को माङ्सेबुङ गाउँपालिका वडा नं २ इभाङस्थित चुम्चिनाम्बामा भएको थियो । किराँत धर्म र संस्कृतिको मौलिक पहिचान र संरक्षणमा जोड दिनुहुने फाल्गुनन्दले किराँत समुदायमा मासु र मदिरा खान नहुने, छोरीलाई समेत छोरासरह समान शिक्षा र अधिकार दिइनु पर्ने, जन्म, विवाह र मृत्यु संस्कार गर्दा मासुको साटो फलफूल प्रयोग गरिनु पर्ने, बिहे रीतको नाममा सम्पत्ति तथा दाम लिन नहुने, स्वदेशी कपडा प्रयोग गरिनु पर्ने, सिरिजङ्गा लिपी प्रचलनमा ल्याउनु पर्ने लगायतका सामाजिक सुधारको अभियान चलाएका थिए।

विसं २००५ चैत २२ गते ६६ वर्षको उमेरमा पाँचथरको इम्बुङमा निधन भएका फाल्गुनन्दलाई किराँत धर्मावलम्बीहरुले देवदूतको रुपमा उच्च सम्मान गर्दैआएको छ।
न्वारानको नाम नरध्वज लिङ्देन भए पनि फाल्गुनन्द बेलायती फौजमा फाल्गुनन्दको नामबाट भर्ती भएका थिए। बेलायती सेनामा केही वर्ष काम गरेका फाल्गुनन्दले मारकाट र लडाइँ झगडा नराम्रा कुरा हुन् भन्ने सोचेर जागीरबाट राजीनामा दिई धार्मिक सुधार अभियान चलाएका थिए। यस क्रममा फाल्गुनन्द भारत र भुटानसम्म पुगेको बताइन्छ।

नेपाल सरकारले विसं २०५० सालमा महागुरु फाल्गुनन्दको नाममा सम्मानस्वरुप रु १५ को हुलाक टिकट प्रकाशन गरेको थियो। प्रधानमन्त्री केपी शर्मा ओली पहिलोपटक सरकारको नेतृत्वमा पुग्नुभएका बेला विसं २०७२ मा फाल्गुनन्द जन्मजयन्तीको अवसरमा किरात धर्मावलम्बीहरुका लागि सरकारी सार्वजनिक विदा दिने निर्णय भएको थियो।

राष्ट्रिय विभूति,समाज सुधारक महागुरू फाल्गुनन्दको १३६ औं जन्मजयन्तिका अवसरमा उच्च सम्मान प्रकट गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना व्यक्त गरेका छन्।


प्रकाशन मिति–२०७७ साल कात्तिक २५ गते मंगलवार ।