काठमाडौं । नेपाल सरकारले पर्यटकीय गन्तव्यका लागि सूचीकृत गरेका १ सय स्थानमा काठमाडौं महानगरको शान तथा गौरब बसन्तपुरको नाम नै छुटेको छ।

सरकारले आर्थिक बर्ष २०७५-०७६ को बजेट बक्तव्यको बुँदा नं. ११४ बमोजिम नेपालमा पर्यटन प्रबद्र्धन तथा नयाँ गन्तव्य पहिचान एवं बिकासका लागि तयार पारेको सूचीमा महानगरभित्र भएका ४ वटा बिश्व सम्पदा क्षेत्रमध्ये बौद्ध स्तुप, स्वयम्भू स्तुप र पशुपतिनाथ मन्दिरको नाम समावेश छ । यसका साथै नारायणहिटी दरबार संग्रहालयलाई पनि गन्तव्य सूचीमा समावेश गरिएको छ । तर, बसन्तपुर भने छुटाइएको छ।

नेपाल आएर काठमाडौंमा बस्ने पर्यटक बसन्तपुर पुग्छन् नै । यति मात्र होइन, यो बिश्व सम्पदा क्षेत्र पनि हो । सूचीमा किन अट्टाएन भन्ने प्रश्नको उत्तरमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव एवं प्रवक्ता धनश्याम उपाध्यायले बसन्तपुरको नाम छुटेको स्वीकार गरेका छन्।

प्रवक्ता उपाध्यायले समावेश हुनु पर्ने गन्तव्य बसन्तपुरको नाम छुटेको भएतापनि यसलाई मन्त्रीस्तरीय निर्णयबाट मात्र परिमार्जन गर्न सकिने बताएका छन् । प्रवक्ता उपाध्यायका अनुसार, प्रमुख पर्यटकीय गन्तव्य स्थापित गर्न, पूर्वाधार बिकास कार्यक्रमअन्तर्गत, गन्तव्य स्थानमा सूचीकृत गर्न आव्हान गरिएको सार्वजनिक सूचनाबाट प्राप्त निवेदन र सरोकारवाला निकायबाट प्राप्त सुझावका आधारमा गन्तव्य तय भएको थियो।

यस सूचीमा काठमाडौं जिल्लाका ७ वटा ठाउँलाई स्थापित तथा प्रवद्र्धन गरिनु पर्ने ठाउँको सूचीमा राखिएको छ । यीमध्ये ४ वटा महानगरपालिकाभित्रका स्थानहरु (बौद्ध, स्वयम्भू, पशुपति र नारायणहिटी संग्रहालय) बुढानिलकण्ठ नगरपालिकाको बुढानिलकण्ठ, गोकर्णेश्वर नगरपालिकाको सुन्दरीजल, चन्द्रागिरी नगरपालिकाको चन्द्रागिरी समावेश छन् । यस सूचीमा (चन्द्रागिरी) नगरपालिकामा पर्ने दहचोकलाई नयाँ तथा बिकास गरिनुपर्ने गन्तव्यको सूचीमा राखिएको छ ।

बिश्व सम्पदा क्षेत्र बसन्तपुरको नाम पर्यटकीय गन्तव्यको सूचीमा छुट्नु गंभीर त्रुटी भएको र यसलाई सच्याउन आफूहरुले पर्यटन मन्त्रीलाई आव्हान गर्ने काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले भनेका छन्। यो बिषयलाई महानगरको सम्पदा तथा पर्यटन समितिले गम्भीरताका साथ लिएको समितिका संयोजक न्हुच्छेकाजी महर्जनको भनाई रहेको छ। बसन्तपुरबिना काठमाडौंको घुमाइ अधुरो हुने तर्क समेत महर्जनको रहेको छ।     (चन्द्रमणि भट्टराईको सहयोगमा)


प्रकाशन मिति–२०७६ साल भदौ १७ गते मंगलवार ।