काठमाडौं। नेपालमा पहिलो लोकदोहरी महिला व्यवसायी नुवाकोटकी धनकुमारी थापा नै हुन्। असली नाम धनकुमारी थापा भएतापनि धनकुमारीलाई लोकदोहरी गायन तथा व्यवसायमा सरु थापाको नामले व्यापक चिन्ने गरिएको छ।

यिनै गायिका सरु थापाले काठमाडौंको अति व्यस्त स्थान दरबारमार्गमा १८ बर्षअघि नै जुनकिरी लोकदोहरी सांझ खोलेकी थिइन्। जुन लोकदोहरी साँझलाई गायिका थापाले दरबारमार्गमा निरन्तरता नै दिइरहेकी छन्।

काठमाडौंको नमूना लोकदोहरी साँझ रेष्टुरेन्टको रुपमा अत्यन्त ख्याति कमाउन सफल यस लोकदोहरी साँझमा गायिका थापाले जमेर लोकदोहरी गाएर सवैको मनलाई प्रफुल्लित बनाउने कार्य गर्दैआएको पनि दशकौ भैसकेको छ।

देश तथा विदेशमा ख्यातिप्राप्त लोकदोहरी गायनकी महारानी सरु थापा हालै देश वाहिर दुबईमा संपन्न भएको ग्लोबल मोसन पिक्चर अवार्ड नेपालको दुबई संस्करणमा सर्वोत्कृष्ट लोकदोहरी गायिकाको अवार्ड प्रदान गरिएको छ। दुबईमा पाएको उक्त अवार्डवाट आफूलाई यस क्षेत्रमा अझै निरन्तर कार्य गरेर नेपाली मौलिक लोकदोहरीको संरक्षण र संवद्र्धनमा टेवा दिने जिम्मेवारी महशुश भएको प्रतिक्रिया गायिका थापाले भिजन संसार डटकमलाई दिएकी छन्।

लोक संगीतको हस्ती नै मानिएकी गायिका थापा गायिका मात्र नभइकन मन छुने गीतका गीतकार पनि हुन्। फुर्सदका बेला मज्जाले गीत लेख्ने अनि त्यही गीतमा लय दिएर भाका मिलाउंदै गाउने उनको बचपनको शौख पनि हो। त्यही शौखले नै उनी व्यावसायिक अनि सफल गायिका बनेकी हुन्। हालसम्म सयौं गीत उनले गाइसकेकी छन्। बाँचुञ्जेल गाइरहने प्रतिबद्धता पनि उनले व्यक्त गरेकी छन्।
प्रकाशन मिति–२०७५ साल माघ १० गते विहीवार ।