काठमाडौ। नेपालकी पूर्वयुवराज्ञी हिमानी शाह तीन महिना थाइल्यान्ड बसेर आज मंगलवार नेपाल फर्केकी छन्। थाइल्याण्डको राजधानी बैंककमा अध्ययनरत छोराछोरीहरु भेट्न गएकी हिमानी लकडाउनका कारण बैंककमा नै रहन वाँध्य बनेकी थिइन्।

मंगलबार नेपाल एयरलाइन्सको विमानले थाइल्यान्डमा रहेका नेपालीहरुलाई स्वदेश फर्काएको थियो। सोही बिमानबाट हिमानी र उनका छोरा हृदयन्द्र पनि नेपाल फर्केका हुन् । त्रिभुवन विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले पनि हिमानी र ह्दयन्द्र फर्केको पुष्टि गरेका छन्।

आज दिउँसो ३ बजे त्रिभुवन विमानस्थलमा ओर्लिएपछि हिमानी र हृदयन्द्र होटल क्वारेन्टाइनमा बसेका छन्। नेपाली सेनाले उनीहरुको क्वारेन्टाइन व्यवस्थापन गरेको पनि महाप्रबन्धक केसीको भनाई छ।

हिमानीका दुई छोरीहरु पूर्णिका र कृतिका भने बैंकक नै बसेका छन् । उनीहरुको कलेज खुलिसकेकाले नेपाल नआएको बुझिएको छ। थाइल्यान्डमा बस्दा हिमानीले छोरीहरुसित बनाएको टिकटक भिडियो व्यापक भाइरल भएको थियो।


प्रकाशन मिति–२०७७ साल असार ९ गते मंगलवार ।