काठमाडौं। नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी अमेरिका प्रस्थान गरेकी छन्। आइतवार अबेर साँझ राष्ट्रपति भण्डारी अमेरिका प्रस्थान गरेकी हुन् । संयुक्त राष्ट्रसंघीय कार्यक्रममा भाग लिन राष्ट्रपति भण्डारी त्यसतर्फ गएकी हुन्।

परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति भण्डारी राष्ट्रसंघीय महिला नियोगको अन्तरसरकारी संस्था कमिसन अन दि स्ट्याटस अफ वुमनले गर्न लागेको वुमन इन पावर कार्यक्रममा सहभागी हुनेछिन् । राष्ट्रपतिको भ्रमण टोलीमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा पनि रहेकी छन्।

राष्ट्रपति भण्डारीको बिदाइका लागि उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओली, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलगायत उच्च पदस्थ व्यक्ति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

पाँचदिने भ्रमणका क्रममा राष्ट्रपतिले फागुन २८ गते कसरी महिला नेतृत्वले संसार बदल्न सक्छन् भन्ने विषयमा राष्ट्रसंघमा मन्तव्यसमेत दिने कार्यक्रम रहेको छ।
प्रकाशन मिति–२०७५ साल फागुन २६ गते आइतवार ।