Bidhya Devi Bhandari in Srilankaकाठमाडौ। नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी श्रीलंकाको औपचारिक भ्रमणकाक्रममा शनिबार थाइल्यान्ड हुँदै श्रीलंकाको राजधानी कोलम्बो पुगेकी छन्। राष्ट्रपति भण्डारीलाई बन्दरानायके अन्तर्राष्ट्रिय विमानस्थलमा श्रीलंकाका न्याय तथा बुद्धशासनमन्त्री डा.विजयदास राजपक्ष, वैदेशिक रोजगारमन्त्री थालथा अथुकोराला र उपविदेशमन्त्री डा. हर्ष डेसिल्भा तथा श्रीलंकाका विदेश मन्त्रालयका उच्चपदस्थ प्रतिनिधिले स्वागत गरेका थिए।

विमानस्थलमा श्रीलंकाका लागि नेपाली राजदूत डा. विश्वम्भर प्याकुरेलले पनि भण्डारीलाई स्वागत गरे। श्रीलंकाकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाको औपचारिक निमन्त्रणामा राष्ट्रपति भण्डारी श्रीलंका पुगेकी हुन्। बुद्धजयन्तीका अवसरमा श्रीलंकाले मनाउन लागेको संयुक्त राष्ट्रसंघीय वैशाख सम्मेलनको समापन समारोहमा राष्ट्रपति भण्डारी प्रमुख अतिथिकारुपमा सहभागी हुनेछिन्।

यही वैशाख २९ गते श्रीलंकाको राजधानी कोलम्बोमा सुरु भएको सो सम्मेलनको समापन वैशाख ३१ गते श्रीलंकाकाको दोस्रो ठूलो सहर क्यान्डीमा हुनेछ। सन् २००० देखि राष्ट्रसंघले बुद्धजयन्तीलाई राष्ट्रसंघीय दिवसकारुपमा मनाउन सुरु गरेको हो। सो दिनलाई थाइल्यान्ड, श्रीलंका, म्यानमालगायतले वैशाख दिवसकारुपमा मनाउँदै आएका छन्।

श्रीलंकाले तीन दिनसम्म सोसम्बन्धी विशेष सम्मेलन गरिरहेको छ। श्रीलंकाको औपचारिक भ्रमणकाक्रममा राष्ट्रपति भण्डारीले आफ्ना समकक्षी सिरिसेनासँग भेटवार्ता गर्नाका साथै उच्च राजनीतिक भेटघाट गर्ने कार्यक्रम पनि रहेको छ। भ्रमणकाक्रममा राष्ट्रपति भण्डारीले क्यान्डीमा रहेको बुद्धको दाँतको अस्थीधातुको दर्शन गर्नाका साथै श्रीलंकास्थित विभिन्न धार्मिक क्षेत्रको पनि भ्रमण गर्नेछिन्।
प्रकाशन मिति–२०७४ साल बैशाख ३० गते शनिवार ।