काठमाडौं नेपालमा केही दिन यता बढेको वायु प्रदूषणका कारण देशभरका सम्पूर्ण शैक्षिक संस्थाहरु मंगलवारवाट सरकारले चार दिन बन्द गरेका छन्। शिक्षा मन्त्रालयले वायु प्रदुषणले विद्यार्थीहरुमा स्वास्थ्य समस्या आउन सक्ने भन्दै मंगलबारदेखि शुक्रबारसम्म सबै शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरेको हो। अब विद्यालय तथा कलेजहरु आगामी आइतबार मात्रै खुल्ने भएका छन्।

शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको आकस्मिक बैठकले मंगलबारदेखि शुक्रबारसम्म सबै शिक्षण संस्था बन्द गर्ने गर्ने निर्णय गरेको हो। यद्यपि पूर्व निर्धारित परीक्षा तालिका भएका शिक्षण संस्थाहरुले भने स्वास्थ्य सावधानी अपनाउँदै परीक्षा सञ्चालन गर्न सक्ने मन्त्रालयले जनाएको छ। मन्त्रालयले अहिलेको विषम परिस्थितिमा बालबालिकालाई घरमै सुरक्षित राख्न समेत आग्रह गरेको छ।

यता जल तथा मौसम विज्ञान विभागले अझै तीन दिन वायुमण्डल स्थिर रहने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। गएको शुक्रवार देखा परेको बाक्लो तुवाँलो हटाउन आवश्यक मौसमी प्रणाली नदेखिएकाले अझै तीन दिन प्रदूषण कायम रहने विभागले जनाएको छ।

विभागले विज्ञप्ति निकालेर तीन दिनपछि वायुमण्डल केही चलायमान हुने देखिए पनि प्रदूषण हट्नका लागि त्यसपछिको डढेलोको अवस्था, वर्षा वा बलियो हावाहुरी आउने–नआउनेमा भर पर्ने जनाएको छ। अहिले काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँको हावा स्वास्थ्यका लागि घातक रहेकाले अत्यावश्यकबाहेक घरबाट ननिस्कन र सावधानीका उपाय अपनाउन पनि विभागले आग्रह गरेको छ।
प्रकाशन मिति–२०७७ साल चैत्र १६ गते सोमवार ।