काठमाडौं। नेपालको एकमात्र अन्तरराष्ट्रिय विमानस्थल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल फेरि सात घन्टा बन्द हुने भएको छ। धावनमार्ग लगायतका जिर्णोद्वार कार्यको दोस्रो चरणको काम भदौं १५ गते आइतबारतदानुसार सेप्टेम्बर १ देखि सुरु हुने भएपछि पुनः सात घन्टा विमानस्थल बन्द हुने लागेको हो ।


विमानस्थलका महाप्रबन्धक राजकुमार क्षत्रीका अनुसार आइतबारदेखि राति साढे ११ बजेदेखि बिहान साढे ६ बजेसम्म विमानस्थल बन्द हुने भएको छ। तर, नेपाल वायुसेवा निगमले बिहीबारदेखि सुरु गरेको जापानको ओसाका उडानका दिन भने विमानस्थल मर्मतको कार्य आधा घन्टा स्थगन गरिने छ।

‘निगमको उडान भएको दिन मंगलबार, बिहीबार र शनिबार राति २ बजे जिर्णोद्वार तथा मर्मत कार्य रोकिने छ,’ महाप्रबन्धक क्षत्रीले भनेका छन्–, ‘साढे २ बजे जहाज उडेपछि फेरि मर्मत सुचारु गरिने छ ।’

नेपाल नागरिक उड्डयन प्राधिकरण मातहतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाका अनुसार, विमानस्थल रिह्याबिलिटेसन (जिर्णोद्वार) को काम भदौ १५ देखि सुरु भई पुस १५ गतेसम्म सञ्चालन हुनेछ। यस अवधिमा ७ घन्टा विमानस्थल बन्द हुनेछ । दोस्रो चरणमा धावनमार्गको मध्यरेखामा लाइट राख्ने, ट्याक्सी–वे, एप्रोन र धावनमार्ग जोड्ने लिंक रोड, धावनमार्गसँग जोडिएका ड्रेन ममर्त आदिको काम हुनेछ बिमानस्थल कार्यालयले जनाएको छ ।

यसअघि तीन महिना (चैत ११ देखि असार १६ गतेसम्म) १० घन्टा आंशिक उडान बन्द गर्दै पहिलो चरणको धावनमार्ग रिह्याबिलिटेसन (जीर्णोद्वार) को काम सम्पन्न गरिएको थियो ।
प्रकाशन मिति–२०७६ साल भदौ १४ गते शनिवार ।