काठमाडौं। नेपालमा जारी लकडाउनमा छोटो दूरीमा सार्वजनिक सवारी साधन चलाउन दिने भएको छ। लकडाउन आगामी साउन ७ गतेसम्म जारी भएतापनि मन्त्रिपरिषद् बैठकले काठमाडौं उपत्यकासहित अन्य जिल्लामा सार्वजनिक सवारी साधन सञ्चालन गर्न अनुमति दिएको हो।

काठमाडौं उपत्यकाको हकमा काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा सार्वजनिक सवारी साधन चलाउन पाइने भएको छ। अन्य जिल्लाको हकमा एक जिल्लामा मात्र सार्वजनिक सवारी साधन चलाउन पाइने भएको हो। संवन्धित जिल्ला वाहेक अन्य जिल्लामा सार्वजनिक सवारी चलाउन नपाइने भनिएको छ। लामो दूरीको सार्वजनिक सवारी चलाउन अझैपनि रोक लगाइएको छ।

चालकसहित सिट क्षमताको ५० प्रतिशत यात्रुमात्रै बस्न पाउने व्यवस्था गरिएको छ। यात्रु सबैले मास्क लगाउनु पर्ने र गाडीमा स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने छ। एक पंक्तिमा एकजना बस्ने गरी सवारी साधनको क्षमताको ५० प्रतिशत यात्रु मात्रै राख्न पाउने गरी कडाई गरेको छ।

यस्तै, ट्याक्सी पनि सञ्चालन गर्न दिने निर्णय भएको छ। ट्याक्सी बाहेकका अन्य सार्वजनिक सवारी साधनमा यात्रा गर्ने यात्रुहरुलाई ५० प्रतिशत थप भाडा लिन पाउने व्यवस्था गरिएको छ। कहिलेदेखि लागू हुने भनेर नखुलाइए पनि सुरक्षाका उपाय अपनाएर सञ्चालन गर्न सक्ने सवारी साधनले तत्काल सेवा शुरु गर्न सक्ने मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा अर्थमन्त्री युवराज खतिवडाले बताएका छन्।
प्रकाशन मिति–२०७७ साल असार २५ गते विहीवार ।