काठमाडौं। कामना लिट्टिल डान्स च्याम्पियन २०१९ को रमाइलो सेमी–फाइनल र फाइनल पुस ५ गते शनिवार हुने भएको छ। शनिवार ११ बजेदेखि करिबन साँझ ५ बजेसम्म उक्त रमाइलो प्रतियोगिता हुने भएको हो।

नेपालको नंबर वान नृत्य विद्यालय कामना कला केन्द्रको आयोजनामा कामना लिट्टल डान्स च्याम्पियन २०१९ को सेमी–फाइनल र फाइनल एकैदिनमा रमाइलो तथा प्रतिस्पर्धात्मक ढंगवाट हुन गैरहेको आयोजक कामना कला केन्द्रका संस्थापक नृत्य निर्देशक भुवन श्रेष्ठले बताएका छन्।

अग्रज नृत्य निर्देशक श्रेष्ठका अनुसार, विभिन्न चरणमा सहभागी कक्षा प्ले–ग्रुपदेखि कक्षा ४ सम्म अध्ययनरत भाइबहिनीहरु मध्येबाट अडिसन राउण्ड, मेगा राउण्ड, थियटर राउण्ड सुपर सेमी राउण्ड, टप सेलेक्टेड राउण्ड हुँदै अत्यन्तै प्रतिभावान् ३८ जना भाइबहिनीहरु सेमीफाइनल पुग्न सफल भएका छन् ।

उक्त ३८ जना विद्यार्थीहरुका बीचमा सम्पन्न हुने सेमीफाइनल प्रतियोगिता लगत्तै फाइनलको प्रतिस्पर्धा पुस ५ गते शनिवार नै हुन लागेको हो। ३८ वटा विद्यालयवाट करिबन १ हजार १ सय ३५ जना प्रतिभावान भाइबहिनीहरुको उत्साहजनक सहभागिता रहेकोमा उनीहरु मध्येवाट विभिन्न राउण्ड पार गरेर ३८ जना विद्यार्थी भाइबहिनीहरु वीच सेमीफाइनल र फाइनल राउण्ड हुन गैरहेको जानकारी पनि अग्रज नृत्य निर्देशक श्रेष्ठले दिएका छन्।

काठमाडौंको गौशाला पिंगलास्थान स्थित नेपाल संगीत विद्यालयमा भव्य तथा सभ्य ढंगवाट कामना लिट्टल डान्स च्याम्पियन २०१९ हुन गैरहेको जानकारी कार्यक्रम निर्देशक तथा नृत्य निर्देशक केशव कोइरालाले दिएका छन्।

वि.सं.२०५९ साल श्रावण ३० गते विधिवत रुपमा सर्वोत्कृष्ट नृत्य शिक्षा प्रदान गर्ने उदेश्यनुरुप कामना कला केन्द्रको स्थापना भएको हो। विगत तीन दशकदेखि व्यावसायिक नृत्य शिक्षण पेशामा क्रियाशील ख्यातिप्राप्त नृत्य निर्देशक भुवनदास श्रेष्ठले स्थापना गरेको यस नृत्य विद्यालय नेपालकै नंबर एक नृत्य विद्यालयको रुपमा स्थापित भैसकेको छ।

स्थापना कालदेखि हालसम्म हजारौ नृत्यका दक्ष जनशक्ति तयार पारिसकेको कामना कला केन्द्रले समय–समयमा प्रतियोगितात्मक विविध कार्य गर्दैआएको छ। यसक्रममा कामना सिने लोक नृत्य प्रतियोगिता २०५९, कामना सिने अत्याधुनिक नृत्य प्रतियोगिता २०६१ लगायत रहेका छन्। जुन अत्यन्त सफल भएको गौरबमय इतिहास रहेको छ।

त्यसको अलावा देश तथा विदेशहरुमा नेपाली कलात्मक सांस्कृतिक नृत्यहरु प्रस्तुत गरेर बेग्लै नाम र प्रतिष्ठा राख्ने कार्य कामना कला केन्द्रवाट भैसकेको छ। यो बर्ष पनि त्यस्तै महत्वपूर्ण प्रतियोगिता कामना लिटिल डान्स च्याम्पियन २०१९ को आयोजना भएको छ।


प्रकाशन मिति–२०७६ साल पुस ४ गते शुक्रवार ।