काठमाडौं। नेपालको नविनतम सोचको नेपाल खुला विश्वविद्यालयले डिजिटल एजुकेशन आइसिटी अवार्डको उपाधि जित्न सफल भएको छ। लिभिङ विथ आइसिटीको आयोजनामा शनिबार राजधानीस्थित सोल्टी क्राउन प्लाजामा भएको अवार्डको ग्रान्ड फिनालेमा विश्वविद्यालयले उक्त अवार्ड जितेको हो।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विश्वविद्यालयका आईटी तथा ईलर्निंङ एक्स्पर्ट पदमराज पन्तलाई उक्त उपाधि प्रदान गरेका छन्।
डिजिटल एजुकेशन आइसिटी अवार्ड पहिलो पटक समावेश गरिएको विधा हो। यस उपाधि सूचना प्रविधिलाई अधिकतम प्रयोग गरी शिक्षण पद्दतिमा सुधार ल्याएका शिक्षण संस्थालाई प्रदान गर्ने गरिन्छ।

यस विधाको लागि १५ संस्थाको आवेदन परेकोमा जुरी समूहले आवेदन परेका संस्थाको कार्यालय समेत भ्रमण गरेर मनोनयनको लागि ३ संस्था छनौट गरेको थियो। अन्तिम ३ को मनोनयनमा तनहुको आदिकवि भानुभक्त क्याम्पस तनहु, वाफलको ज्ञानोदय मावि र नेपाल खुला विश्वविद्यालय परेका थिए। जस मध्येबाट नेपाल खुला विश्वविद्यालयले उक्त उपाधि जितेको हो।

नेपाल खुला विश्वविद्यालयमा अनलाइनको माध्यमबाट घर मै बसेर स्नातक देखि एमफिलसम्मको अध्ययन तथा अध्यापन गराउने कार्य हुंदैआएको छ। जुन सूचना–प्रविधिको अधिकत्तम उपलव्धिलाई नविनतम सोच अनुरुप शिक्षालाई समयानुकुल सहज बनाउने कार्य यस विश्वविद्यालयवाट भएको छ।
प्रकाशन मिति–२०७६ साल भदौ १ गते आइतवार ।