काठमाडौं। विश्वमा नेपालको पहिचान तथा गौरब राख्न सफल नेपालको मौलिक लिपी रञ्जना लिपीको प्रवद्र्धनको लागि लिपी महाउत्सव नै मनाइएको छ। नेपाल लिपी गुठीको आयोजनामा शनिवार लिपी पर्वको रुपमा महाउत्सव मनाएको हो।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले उदघाटन गरेको लिपी महाउत्सवमा नेपालको मौलिक लिपी रञ्जना लिपीको बारेमा व्यापक चर्चा–परिचर्चा र यसको आवश्यकताको बारेमा प्रकाश पारेका थिए। मेयर शाक्यले लिपी पर्व नयाँ पुस्ताको लागि पहिचानको मार्गदर्शन बनेको प्रतिक्रिया व्यक्त गरेका छन्।

रञ्जना लिपीको प्र्रवद्र्धनमा महत्वपूर्ण योगदान दिने ३ नंबर प्रदेशका सांसद राजेश शाक्यले रञ्जना लिपीको पहिचान र प्रवद्र्धनले नेपालको मौलिक परम्परालाई विश्वसामु उजागर गर्न टेवा पुगेको ठहर गरेका छन्।

रञ्जना लिपीका प्रवद्र्धनमा अहोरात्र लागिरहेका पवित्र कसाः, निर्मल बज्राचार्य, निर्जल श्रेष्ठ, सुनिता डंगोल लगायतको लिपी पर्वमा अत्यन्त क्रियाशीलता देखिएको थियो। लिपी पर्वमा अन द स्पट रञ्जना लिपीवाट नाम लेख्ने तथा कुनैपनि चित्रमा रञ्जना लिपी लेखेर गजब गजबका कलाकारिता प्रदर्शन गर्ने कार्य भएको थियो। जसवाट नेपालका ख्यातिप्राप्त कलाकार अशोकमान सिंह देखि कला मनोविज्ञ रमेश खनालसम्म प्रभावित बनेका थिए।

उनीहरुले यो लिपी पर्व बास्तवमा नै महाउत्सव भएको र नेपालको पहिचान बढाउन धेरै सहयोग गरेको भिजन संसार डटकमसंगको कुराकानीमा प्रतिक्रिया दिएका थिए। संयुक्त राष्ट्रसंघमा नेपालको लिपीको रुपमा रञ्जना लिपी नै उल्लेख भएको छ। जसवाट पनि यो नेपालको मौलिक तथा पहिचानरुपी लिपी भएको सवैको ठहर रहेको छ।


प्रकाशन मिति–२०७६ साल असार १४ गते शनिवार ।