ललितपुर। नेपाली संस्कृति तथा पर्यटन प्रवद्र्धनमा नेपाली सञ्चारको गहन भूमिकाको बारेमा बृहत अन्तरक्रिया कार्यक्रम भएको छ। नेवाः पत्रकार राष्ट्रिय दबुको आयोजनामा ललितपुर महानगरपालिका समाज कल्याण महाशाखाको सहयोगमा बृहत अन्तरक्रिया कार्यक्रम बुधवार ललितपुरको जावलाखेल स्थित ताम्राकार समाजको भवनमा भएको हो।

नेपाल सरकारका सहसचिव तथा स्थानीय विज्ञ रुद्रसिंह तामाङको प्रमुख आतिथ्यतामा भएको अन्तरक्रिया कार्यक्रममा बक्ताहरुले नेपाली संस्कृति तथा पर्यटन प्रवद्र्धनमा नेपाली आम सञ्चार माध्यमको गहन भूमिका र महत्व भएको कुरामाथि प्रकाश पारेका थिए। ललितपुर महानगरपालिका सामाजिक विकास संयोजक तथा वडा नंबर २४ का वडा अध्यक्ष दिनेश कार्की, १६ नंबर वडाका वडा अध्यक्ष निर्मलरत्न शाक्य, वडा नंबर २१ खोकनाका वडा अध्यक्ष रविन्द्र महर्जन लगायतको विशेष आतिथ्यता रहेको अन्तरक्रिया कार्यक्रममा नेपालभाषा टाइम्स दैनिकका सम्पादक सुरेश किरण मानन्धरले नेपालको भ्रमण गर्ने पहिलो पर्यटक महामञ्जुश्री भएको खुलासा गरेका थिए।

सम्पादक मानन्धरले महामञ्जुश्री तिब्बतवाट स्वयम्भूको डाँडामा ज्वाला उत्पन्न भएको ध्यान दृष्टिवाट थाहा पाएर नेपाल आएको र त्यहाँवाट हेरेर बस्ती बसाल्न उपयुक्त देखेर तलाउको रुपमा रहेकोलाई चोभारमा खड्ग प्रहार गरेर पानीको निकास दिएपछि नेपालमण्डल बस्ती बसाएको गहन जानकारी दिएका थिए। नेपालको बस्ती विकासमा पर्यटक र पर्यटनको अत्यन्त अनन्य संवन्ध रहेको बताउंदै सम्पादक मानन्धरले नेपाली संस्कृति र पर्यटनवाट नेपाली सञ्चार दूर हुनै नसक्ने जिकिर गरे। सञ्चार माध्यमकै कारण नेपालको संस्कृतिको विश्वमा व्यापक प्रचार प्रसार भएर पर्यटन विकास भएको पनि सम्पादक मानन्धरले दावी गरेका छन्।

त्यसैगरेर, कान्तिपुर दैनिकका समाचार संवाददाता प्रशान्त मालीले नेपाली संस्कृति र पर्यटनको विकास तथा संवद्र्धनमा नेपाली सञ्चार माध्यमको उल्लेखनीय योगदानका दस्तावेजहरु प्रस्तुत गरेका थिए। पर्यटन पत्रकार तथा दुईपल्ट विश्वको अग्लो शिखर सगरमाथा आरोहण गर्ने साहसी व्यक्तित्व कल्पना महर्जन लगायतले पनि नेपाली सञ्चार माध्यमले नेपाली संस्कृति र पर्यटनको विकासमा खेलेको उल्लेखनिय भूमिकाको दिल खोलेर तारिफ गर्ने कार्य भएको थियो।

आयोजक नेवाः पत्रकार राष्ट्रिय दबुका केन्द्रिय महासचिव सुनिल महर्जनवाट स्वागत मन्तव्य दिदै नेपाली संस्कृति र पर्यटनमा नेपाली सञ्चार माध्यमको आवश्यकता र महत्वको वारेमा प्रकाश पारेका थिए। कार्यक्रम नेवाः पत्रकार राष्ट्रिय दबुका केन्द्रिय अध्यक्ष श्रीकृष्ण महर्जनको अध्यक्षेतामा भएको थियो भने, नेवाः पत्रकार राष्ट्रिय दबु ललितपुर शाखाका अध्यक्ष सुरज व्यञ्जनकारले धन्यवाद ज्ञापन गरेका थिए। कार्यक्रम संचालन नेवाः पत्रकार राष्ट्रिय दबु ललितपुर शाखाका सचिव राजेश बज्राचार्यले गरेका थिए। Photo By-Nripendra Lal Shrestha/Lahana Media.
प्रकाशन मिति–२०७६ साल असार २६ गते बुधवार ।