काठमाडौ। नेपालको राष्ट्रपतिको निर्वाचनमा विद्यादेवी भण्डारी नै दुई तिहाई भारी मतवाट निर्वाचित बनेकी छन्। दुई बर्ष राष्ट्रपति बनिसकेकी विद्यादेवी भण्डारी बामगठवन्धनको बहुमतवाट निर्वाचित बनेकी हुन्। भण्डारीको प्रतिव्दन्दी नेपाली कांग्रेसकी लक्ष्मीकुमारी राई रहेकी थिइन्।

निर्वाचनमा भण्डारीले ३९ हजार २७५ मत पाइन् । उनलाई २४५ संघीय सासद र ४१५ प्रदेशसभा सदस्यले मत दिएका थिए। नेपाली कांग्रेस उम्मेदवार राईले भने ११७३० मत पाएकी छन् । उनलाई ७८ संघीय सांसद र ११६ प्रदेशसभा सदस्यले मत दिएका छन् । दोस्रो कार्यकालमा निर्वाचित भएपछि भण्डारी अब पाँच वर्षसम्म मुलुकको सर्वोच्च राष्ट्रपति पदमा आसिन हुनेछिन्।

विद्यादेवी भण्डारीको इतिहास–बर्तमान

भोजपुरको मानेभन्ज्याङमा विसं. २०१८ साल असार ५ गते जन्मिएकी विद्यादेवी भण्डारी गणतान्त्रिक नेपालको तेस्रो राष्ट्रपतिमा भारी मत ल्याएर पुनः निर्वाचित भएकी छन्।

बाबु स्व. रामबहादुर पाण्डे र आमा मिथिला पाण्डेको कोखबाट जन्मेकी भण्डारीले भोजपुरकै विद्योदय व्यावसायिक सेकेन्डरी स्कुलबाट माध्यमिक तहको शिक्षा हासिल गरेकी थिइन् । भोजपुर क्याम्पसबाट आइए उत्तीर्ण गरेपछि उनले महेन्द्र मोरङ कलेज विराटनगरमा स्नातक तहसम्मको अध्ययन गरेकी थिइन्।

भोजपुर क्याम्पस पढ्दा विसं.२०३५ सालमै तत्कालीन नेकपा मालेसम्बद्ध युवा लीगमा संगठित भएर भण्डारीले राजनीतिक जीवन सुरु गरेकी हुन्। विद्यार्थी संगठन र जिफन्टमा काम गरेकी उनी २०५४ सालमा नेपालगन्जमा भएको नेकपा एमालेको छैटौं महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भइन् भने अखिल नेपाल महिला संघको अध्यक्षकारुपमा दुई कार्यकाल काम गरिन्।

उनी विसं.२०६४ सालमा नेकपा एमालेको आठौं महाधिवेशन र २०७१ सालमा भएको नवौं महाधिवेशनबाट पार्टीको उपाध्यक्षमा निर्वाचित भएकी थिइन्। उनले विसं.२०३९ सालमा तत्कालीन नेकपा मालेका नेता मदन भण्डारीसँग भूमिगतरुपमा जनवादी विवाह गरेकी थिइन्।

तत्कालीन माले महासचिव जननेता भण्डारीको २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको रहस्यमय जिप दुर्घटनामा परी निधन भएपछि सक्रिय राजनीतिमा फर्किएकी उनले काठमाडौंको क्षेत्र नम्बर–१ को उपनिर्वाचनमा नेपाली कांग्रेसका तत्कालीन सभापति एवं प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई पराजित गरेकी थिइन्।

विसं. २०५१ को मध्यावधि चुनावमा काठमाडौंको क्षेत्र–२ बाट तत्कालीन सभामुख दमननाथ ढुंगानालाई हराएर सांसद भएपछि उनको राजनीतिक उचाइ झनै चुलियो । भण्डारी काठमाडौं क्षेत्र नम्बर–२ बाटै २०५६ सालमा प्रतिनिधिसभा सदस्यमा विजयी भएकी थिइन्।

विसं २०५४ सालमा जनसंख्यामन्त्री तथा वातावरणमन्त्री र २०६७ देखि ०६९ सम्म रक्षामन्त्रीको जिम्मेवारी निर्वाह गरेकी भण्डारी दोस्रो संविधानसभामा भने समानुपातिकतर्फबाट सभासद बनेकी थिइन्।

नयाँ संविधानको निर्माणपछि पहिलोपटक भएको दोस्रो राष्ट्रपति निर्वाचनमा विजयी भएसँगै पहिलो महिला राष्ट्रपति बनेकी भण्डारीले नेपालको राष्ट्राध्यक्षजस्तो गरिमामय उच्च पदको जिम्मेवारी सम्हाल्ने ऐतिहासिक अवसर पाएकी थिइन् । उनको पहिलो कार्यकाल करिब दुई वर्षकोमात्र रह्यो।

पहिलो कार्यकालमा उनी खासै विवादमा आइनन्। कार्यकालको अन्तिम समयमा भने शेरबहादुर देउवा नेतृत्वको सरकारले राष्ट्रियसभामा तीनजनालाई मनोनीत गर्न गरेको सिफारिस तत्काल स्वीकृत नगरेकामा केही विवाद देखिएको थियो।

मुलुकमा स्थायी सरकार निर्माण भएको बेला पाँच वर्षे दोस्रो कार्यकालका लागि भारी मतका साथ निर्वाचित राष्ट्रपति भण्डारीसामु अब नेपालको संविधान र सिंगो राष्ट्रको संरक्षककोरुपमा विवादरहित ढंगले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने दायित्व थपिएको छ।

 

प्रकाशन मिति–२०७४ साल फागुन २९ गते मंगलवार ।