काठमाडौं– विश्व बडी बिल्डर च्याम्पियनसिपमा गोल्ड मेडल जितेर विश्व इतिहास रचेका नेपाली बडी विल्डर महेश्वर महर्जनलाई मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भब्य स्वागत गरिएको छ।

थाइल्यान्डको चाङमाइमा डिसेम्बर ११ देखि १७ तारिखसम्म भएको १० औं विश्व शारीरिक सुगठन तथा स्पोर्ट्स फिजिक च्याम्पियनसिपअन्तर्गत शारीरिक सुगठनको पुरुष ७५ केजीमा महेश्वरले गोल्ड मेडल जितेका थिए। नेपाली शारीरिक सुगठनको इतिहासमा यो पदक हालसम्मकै ठूलो र एक मात्र उपलब्धी हो।

विश्व शारीरिक सुगठनमा नेपालले रजत मात्र जितेको छ। यसअघि गत वर्ष मंगोलियमा भएको विश्व शारीरिक सुगठनको नवौं संस्करणमा ननिता महर्जन तथा थाइल्यान्डमा भएको सातौं संस्करणमा रुजेश शाहीले रजत जितेका थिए।

महेश्वर एसियाली शारीरिक सुगठनका पनि एक मात्र गोल्ड मेडल विजेता नेपाली खेलाडी हुन्। महेश्वरले भुटानमा भएको ५० औं एसियाली शारीरिक सुगठनमा उक्त सफलता हात पारेका थिए। ३५ वर्षीय महेश्वर ११ औं दक्षिण एसियाली शारीरिक सुगठनका पनि कास्य विजेता हुन्।

महेश्वरलाई विमानस्थलमा राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिना, नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका पदाधिकारी, खेलाडी, प्रशिक्षक, आफन्तलगायतले भब्य स्वागत गरेका थिए।


प्रकाशन मिति–२०७५ साल पुष १० गते मंगलवार ।