काठमाडौ। पर्यटक कलाकारको स्वागत संत्कार, नेपाली लोक सस्कृतिको आधार भन्ने मूल नारा सहित नवौ अन्तरराष्ट्रिय लोक सांस्कृतिक मेला हुने भएको छ। एभरेष्ट नेपाल सांस्कृतिक समूहले नेपालको संस्कृतिलाई विश्वमाझ चिनाउन उक्त मेला हुन लागेको हो।

आगामी फागुनको तेस्रो सातादेखि नेपालमा नवौँ अन्तरराष्ट्रिय लोक सांस्कृतिक मेला गर्ने भएको आयोजक एभरेष्ट नेपाल सांस्कृतिक समूहले भनेको छ। लामो समयदेखि नेपाली लोक संस्कृतिको संरक्षण तथा संवद्र्धन गर्दै आएको एभरेष्ट नेपाल सांस्कृतिक समूहले नेपाल सहित विश्वका ११ मुलुकका कलाकारलाई नेपालमा बोलाएर फागुन १७ देखि २६ गतेसम्म मेला आयोजना गर्न लागेको आयोजक एभरेष्ट नेपाल सांस्कृतिक समूहका अध्यक्ष रामचन्द्र कोइरालाले बताएका छन्। मेला काठमाडौँ, ललितपुर, नवलपरासी र कास्कीमा मेला आयोजना गरिने भएको छ।

नेपाली युवा पाश्चात्य संस्कृतिमा रमाउन थालेको वर्तमान अवस्थामा नेपाली संस्कृतिको प्रवद्र्धनका लागि उक्त मेला गर्न लागिएको बताउँदै कोइरालाले भनेका छन्। मेलामा नेपाल, बंगलादेश, भारत, मलेसिया, इन्डोनेसिया, कोस्टारिका, इस्टोनिया, ग्रीस, टर्की, इटाली र इजरायलका ३०० भन्दा बढी कलाकारको उपस्थिति हुने भएको छ।

विसं २०५९ देखि प्रत्येक दुई वर्षमा हुँदै आएको मेलामा हालसम्म ६५ देशका तीन हजार ५०० भन्दा बढी कलाकारले आआफ्नो देशको मौलिकता झल्कने झाँकीसहित विविध लोक सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिसकेका छन्।

प्रकाशन मिति–२०७४ साल माघ २८ गते आइतवार ।