काठमाडौ। प्रदेश नम्बर ४ बाहेक अन्य ६ वटा प्रदेशका मुख्यमन्त्रीहरुको टुंगो लागेको छ । प्रदेश नम्वर १ को मुख्यमन्त्रीमा एमालेका नेता शेरधन राई, तीन नम्बर प्रदेशमा डोरमणि पौडेल संसदीय दलको नेता चुनिएसँगै मुख्यमन्त्री बन्ने पक्का भएको छ।

शेरधन राईले एमाले सचिव भीम आचार्यलाई र डोरमणि पौडेलले एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई पराजित गरे । राईले २६ मत ल्याउँदा आचार्यले २४ र पौडेलले ३४ मत ल्याउँदा शाक्यले २४ मत प्राप्त गरेका थिए । शाक्यको पराजयसँगै महिला मुख्यमन्त्री हुने संभावना समाप्त भएको छ। र सबै प्रदेशमा पुरुष मुख्यमन्त्री बन्नेछन्।

प्रदेश नंबर एकका भावी मुख्यमन्त्री शेरधन राईले ढिलोमा फागुन २ गतेभित्र प्रदेश सरकार गठन हुने बताएका छन् । राईले प्रदेशलाई भ्रष्टाचारमुक्त समृद्ध प्रदेश बनाउने दाबी गरे।

प्रदेश नम्बर ५ मा एमालेले यसअघि नै शंकर पोखरेललाई संसदीय दलको नेता बनाएर मुख्यमन्त्री बनाउने पक्का गरिसकेको छ। चार नम्बरमा भने नेता चुन्न बाँकी छ, पृथ्वी सुब्बा गुरुङ र किरण गुरुङ मध्ये एक जना मुख्यमन्त्री बन्ने निश्चित छ। एमालेमा मुख्यमन्त्री बन्ने निश्चित भएका सबै तीन जना ओली पक्षधर हुन ।

६ नम्बरमा माओवादी केन्द्रका महेन्द्रबहादुर शाही र सात नम्बरमा माओवादी केन्द्रकै त्रिलोचन भट्ट मुख्यमन्त्री बन्ने निश्चित भएको छ । प्रदेश नम्बर दुईमा संघीय समाजवादी फोरमका मोहम्मद लालबाबु राउत मुख्यमन्त्री बन्ने देखिएको छ।

यसैबीच प्रदेश नम्बर ६ को नेपाली कांग्रेस संसदीय दलको नेतामा जीवनबहादुर शाही चयन भएको छ । सुर्खेतको वीरेन्द्रनगरमा बसेको संसदीय दलको बैठकले शाहीलाई निर्विरोध चयन गरेको हो।
प्रकाशन मिति–२०७४ साल माघ २६ गते शुक्रबार ।